प्यारिस गोलीकाण्डमा प्रहरीको मृत्यु, आइएसको हात रहेको आशंका

  • 21 एप्रिल 2017
प्यारिस तस्वीर कपीराइट EPA

फ्रान्सको राजधानी प्यारिसको मुख्य शहरमा पार्किङ गरिएको प्रहरीको बसमा एक जना बन्दुकधारीले गोली चलाउँदा एक जना फ्रान्सेली प्रहरी मारिनुका साथै दुई जना गम्भीर घाइते भएका छन्।

शांजे लीजेमा भएको उक्त आक्रमणका क्रममा हमलाकारीले कारबाट झरेर स्वचालित हतियारले गोली प्रहार गरेको थियो।

उसले गोली चलाउँदै घटनास्थलबाट भाग्ने प्रयास गरेपनि प्रहरीले गोली हानी हमलाकारीलाई मारिदिएका थिए।

फ्रान्सका एक जना अभियोजकले हमलाकारी पहिचान भएको बताएका छन्।

अनुसन्धान

उनले उक्त बन्दुकधारीलाई अरु कसैले साथ दिए, नदिएकोबारे छानविन भइरहेको बताए।

तस्वीर कपीराइट Reuters

राष्ट्रपतीय चुनावको पहिलो चरणको मतदान हुनु केही दिन अघि पछिल्लो गोलीकाण्ड भएको हो।

बीबीसी संवाददाता भन्छन्, बन्दुकधारीले हमला गरेपछि पूरै शांजे लिजे क्षेत्रलाई खाली गराइएको थियो र जर्ज भी मेट्रो स्टेशननजिकै प्रहरीका सवारीसाधनहरुलाई लामबद्ध गराइएको थियो।

पर्यटक र पैदलयात्रीहरुको चहल पहल हुने ठाउँ नजिकै गोली चल्न थालेपछि मानिसहरु त्रसित भएका थिए।

विगतमा श्रृखंलावद्ध हमलाहरु भएपछि हाल प्यारिसका पर्यटकीय केन्द्रहरुमा सुरक्षा उपलब्ध गराउन हजारौँ फौज तथा प्रहरीहरु खटिरहेका छन्।

समर्थन

तस्वीर कपीराइट Getty Images

इस्लामिक स्टेट समूहले निकालेको भनिएको एउटा विज्ञप्तिमा एक जना आइएस लडाकु अबु युसोफ द बेल्जियनले उक्त हमला गरेको दाबी गरिएको छ।

उक्त हमलापछि बोल्दै फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलान्दले सुरक्षा निगरानीलाई आगामी दिनमा एकदमै चुस्त पारिने बताए।

उनले शुक्रबार बिहान मन्त्रिपरिषद्को सुरक्षा समितिको बैठक बोलाउने जानकारी दिए।

मृतकका परिवारलाई समवेदना दिएका फ्रान्सेली राष्ट्रपतिले सुरक्षा निकायहरुलाई पूर्ण सहयोग हुने बताए।

ओलान्दकै जस्तो धारणा आइतबार हुने राष्ट्रपति चुनावमा उम्मेदवारी दिएका ११ जना नेताहरुले सामाजिक संजालमा व्यक्त गरेका थिए।

मुद्दा

प्यारिसमा सन् २०१५ यता इस्लामिक स्टेट समूहको आक्रमणमा २ सय ३८ जनाले ज्यान गुमाइसकेको एएफपी समाचार संस्थाले जनाएको छ।

यस पटकको राष्ट्रपति चुनावमा इस्लामवादी उग्रवाद एउटा प्रमुख मुद्दा बनिरहेको छ।

आइतबार हुने चुनावअघि उक्त आक्रमण भएपछि कयौँ नेताहरुले आफ्ना अन्तिम समयका अभियानहरु स्थगित गरेका छन्।

ह्वाइहाउसबाट समवेदना दिदैँ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मानिसहरुलाई दह्रो र चनाखो हुन भनेका छन्।