शल्यक्रियापछि अब्दुलाटीको आधा वजन घट्यो

  • 21 एप्रिल 2017
तस्वीर कपीराइट SAIFEE HOSPITA

विश्वकै सबैभन्दा बढी तौलभएकी भनिएकी इजिप्टकी एक महिलाको उपचार गरेको एक भारतीय अस्पतालले शल्यक्रिया पछि उनको तौल आधीले घटेको बताएको छ।

इमान अहमद अब्दुलाटीको परिवारले शल्यक्रिया पूर्व उनको तौल ५ सय किलो रहेको, तर अहिले उनको तौल २५० किलोमा झरेको बताएको छ।

उनी २५ वर्षदेखि घरबाट बाहिर निस्कन नसकेको उनीहरुको भनाइ छ।

अब्दुलाटीले मुम्बईको सैफी अस्पलामा दुई महिना अघि बारियाट्रिक अर्थात् शरिरको वजन घटाउने शल्यक्रिया गराएकी थिइन्।

सुधार

अस्पतालका अनुसार अब उनी ह्विलचेयरमा बस्न र लामो समयम्म सीधा बस्न सक्छिन्।

बारियाट्रिक शल्य चिकित्सक मुफाज्जल लक्डावालाले नेतृत्व गरेको चिकित्सकहरुको एक टोलीले अब्दुलाटीको शल्यक्रिया गरेको थियो।

अस्पतालले शल्यक्रिया गरेपछिको उनको तस्वीर सार्वजनिक गरेको छ।

शरीरलाई नै खतरा हुने गरी मोटा मानिसको उपाचरको अन्तिम विकल्पको रुपमा बारियाट्रिक शल्यक्रिया गरिन्छ।

प्रतीक्षा

चिकित्सक लक्डावालाद्वारा प्रकाशित एक विज्ञप्तिमा अब्दुलाटीको छिटो वजन घटिरहेको तर सानो छँदा उनलाई भएको मस्तिष्काघातका कारण शरीरको एक भागमा पक्षघात भएको उल्लेख गरिएको छ।

उनलाई बोल्न र निल्न पनि समस्या रहेको बताइएको छ।

विज्ञप्तिमा अब्दुलाटी सिटी स्क्यान मेसिनमा अट्ने गरी दुब्लाउने प्रतीक्षामा अस्पताल रहेको जनाइएको छ।

त्यसपछि उनलाई भएको मस्तिष्कघातको कारण पत्ता लगाउन उनको सिटी स्क्यान गरिनेछ।

परिक्षण

अब्दुलाटीको अर्को चरणको उपचारमा वजन घटाउन परीक्षण औषधि प्रयोग गरिने छ र अस्पतालले सो ‍औषधि अमेरिकाबाट खरीद गर्ने प्रयास गरिरहेको बताएको छ।

अब्दुलाटीका परिवारका अनुसार उनी जन्मँदा ५ किलो थिइन् र उनलाई हात्तीपाइले रोग लागेको निदान गरिएको थियो।

उनी ११ वर्षको हुँदा उनको वजन ह्वात्तै बढेको थियो र त्यसपछि उनलाई मस्तिस्काघात भएको थियो।

शल्यक्रिया पछि घटेको वजनले गर्दा अब अब्दुलाटी विश्वकै सबैभन्दा बढी तौल भएकी महिला नहुन पनि सक्नेछिन्।

गिनिस विश्व रेकर्डका अनुसार २९३.६ किलो तौलभएकी अमेरिकी नागरिक पोलिन पोर्टर विश्वकै सबैभन्दा धेरै तौल भएकी महिला हुन्।