फ्रान्सका प्रधानमन्त्रीले लगाए आरो‌प

  • 21 एप्रिल 2017
प्यारीस हमला तस्वीर कपीराइट Reuters

फ्रान्सका प्रधानमन्त्रीले बिहीबार प्यारिसमा भएको हमलालाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न खोजेको भनी आइताबार हुन लागेको राष्ट्रपतीय निर्वाचनमा एकजना अग्रपंक्तीकी उम्मेदवारमाथि आरोप लगाएका छन्।

सत्ताधारी सोसलीष्ट पार्टीका नेता तथा प्रधानमन्त्री बेरनार काजेनुउभले न्याशनल फ्रन्टकी उम्मेदवार मारिन ल पेनले फ्रान्सको सिमाना पुन: नियन्त्रित गर्नु पर्छ भनेर दिएको अभिव्यक्तिको आलोचना गरेका हुन्।

उनले अर्का पुरातनवादी प्रत्याशी फ्रांस्वा फियोंले गरेको त्यस्तै प्रकृतिको मागलाई पनि अस्वीकार गरे।

मध्य प्यारिसको सांज लिसेमा भएको हमलामा एकजना प्रहरी मारिएकाथिए भने हमलाकारी बन्दूकधारीलाई पनि प्रहरीले गोली हानी मारिदिएका थिए।

माग

फ्रान्समा राष्ट्रपतीय निर्वाचन प्रचार अभियानको अन्तिम दिन, सुरक्षा र आतंकवाद विरुद्धको संघर्ष जस्ता मुद्दाहरुले विशेष चर्चा पाएका छन्।

बिहीबार प्यारिसमा एकजना संदिग्ध इस्लामवादीको हमला पछि ती मुद्दाहरु अगाडी आएका छन्।

चरम दक्षिणपन्थी उम्मेदवार मारिन ल पेनले फ्रान्सको सीमामा लगाइएको नियन्त्रण पुन: लागू गरिनु पर्ने माग गरेकी छिन्।

उनले आफू निर्वाचित भएको खण्डमा फ्रान्सको आतंकवाद विरुद्धको संघर्षमा नयां दिशा तय गर्ने दावी पनि गरिन्।

खारेज

उनले भनिन्, "अहिले र विगतका विभिन्न वाम र दक्षिणपन्थी सिद्धान्तहरु मान्ने विभिन्न सरकारहरुले लिएका भन्दा ठीक उल्टो दिशामा अघि बढेर त्यसको सामना गर्नुपर्छ। राष्ट्रपति निर्वाचित भएमा म तत्कालै र कुनै कमजोरी नदेखाइकनै इस्लामवादी आतंकवादसंग लड्न युद्ध रणनीति लागू गर्नेछु।"

फ्रान्सका जनताको सुरक्षामा देखिएको आपराधिक बेवास्तालाई आफूले ठीक स्थानमा ल्याउने उनले बताइन्।

प्रधानमन्त्री बेरनार काजनुउभले भने, "आइतबार हुने पहिलो चरणको मतदान विना व्यवधान सम्पन्न गर्न सबथोक गरिनेछ।"

तर उनले न्याशनल फ्रन्टकी उम्मेदवार मारिन ल पेन ले तत्कालै सिमाना नियन्त्रण गरिनु पर्ने र सुरक्षा निगरानीमा रहेका विदेशीहरुलाई निष्कासन गर्नु पर्ने मागलाई भने खारेज गरे।

आरोप

बिहीबारको हमलाको विषयमा ल पेनले राजनीतिक खेल खेल्न खोजेको आरोप पनि उनले लगाए।

उनले भने, "न्याशनल फ्रन्टकी उम्मेदवारले पहिले पनि प्रत्येक दु:खान्त घटनामा गरे जस्तै बिहीबारको घटनाबाट पनि फाइदा लिने प्रयास गरेकी छन् र त्यो हामीबीचमा फुट ल्याउने उनको प्रयास हो। नितान्त राजनीतिक स्वार्थका लागि उनले निर्लज्जतापूर्वक मानिसहरुमा डरको भावना फैलाएर भावनाहरुलाई भड्काउने काम गर्दैछिन्।"

उक्त घटनासम्बन्धी कुनै पनि अनुसन्धान र कुनै पनि सूचनाले गए राती प्यारिसमा भएको घटनाको सम्बन्ध आप्रवास र शरणार्थीहरुसंग भएको नदेखाएको उनले बताए।

प्यारिसमा भएको हमला पछि फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा सहभागी मध्ये तीनजना प्रमुख दावेदारहरुले आफ्नो निर्वाचन प्रचार -यालीहरु रद्द गरेका छन्।

लड्न तयार

हाल निर्वाचन मत सर्वेक्षणहरुमा अगाडि रहेका मध्यपन्थी उम्मेदवार एमानुएल माक्रोंले इस्लामवादी हमलाको जोखिम विरुद्ध आफू कडा रुपमा प्रस्तुत हुने बताउँदै फ्रान्स त्यस्ता हमलाबाट नडराउनेमा जोड दिए।

उनले आतंकवादसंग लड्न आफू फ्रान्सले खोजेको जस्तै राष्ट्रपति बन्ने दावी पनि गरे।

उनले भने, "आतंकवादीहरुको चाहना हाम्रो देशलाई अस्थीर तुल्याउनु रहेको छ। तिनीहरु हामी फ्रान्सेलीहरुले आफ्नो भविष्यका बारे निर्णय गर्न लागेका बेला हामीलाई चोट पुर्याउन चाहन्छन्।"

यो परिस्थितिमा गणतन्त्रको राष्ट्रपति र देशको सेनाको प्रधान सेनापतिको प्रमुख भूमिका भनेको फ्रान्सेली जनताको रक्षा गर्नु रहेको र त्यसका लागि उनी तयार रहेको उनले बताए।

बिहीबार भएको हमलामा एकजना ३७ वर्षीय प्रहरीको ज्यान जानुका साथै तीनजना अन्य घाइते भएका थिए।

ती बन्दूकधारीलाई पछि गोली हानी मारिएको थियो।