मृतक वा घाइते सेनाको संख्या सय बढी

  • 22 एप्रिल 2017
हमला

अफगानिस्तानमा तालेबान लडाकुले एउटा सैन्य अखडामा गरेको आक्रमणमा मारिने वा घाइते हुने सेनाको संख्या एक सय नाघेको त्यहाँको रक्षा मन्त्रालयले पुष्टि गरेको छ।

उत्तरी बाल्ख प्रान्तको मजार-ए-शरिफ शहर नजिकै कैयौं घण्टासम्म लडाइँ चलेको थियो।

सेनाका अनुसार सैन्य अखडास्थित मस्जिदमा शुक्रबारको साप्ताहिक प्रार्थना सकेर निस्किरहेका र चमेनागृहमा रहेका सैनिकलाई लडाकुहरुले निशाना बनाएका थिए।

तालेबान लडाकुले एउटा वक्तव्य जारी गर्दै आक्रमणमा आत्मघाती हमलाकारीको प्रयोग गरेको जनाएको छ।

हिंसात्मक

यसअघि मृतकको संख्या १३४ पुगेको बताइएको थियो तर पछि रक्षा मन्त्रालयले सयभन्दा बढी मारिएको वा घाइते भएको जनाएको हो।

यो अफगान सेनामाथि तालेबान लडाकुले गरेको ठूलोमध्येको एउटा आक्रमण भएको बताइएको छ।

कम्तीमा १० जना तालेबान लडाकु मारिएको र एकजना आक्रमणकारीलाई पक्राउ गरिएको छ।

एकजना घाइते सैनिक मोहम्मद हुसैनले भने, "जब म मस्जिदबाट बाहिर निस्केँ तब सेनाको भेषमा र एउटा सैनिक गाडीसहित आएका तीनजनाले गोली चलाउन थाले। पक्कै उनीहरुलाई सूचना दिने कोही भित्र हुनुपर्छ नभए उनीहरु भित्र प्रवेश गर्न सक्दैन थिए।"

राष्ट्रपति अशरफ गनी घाइते सैनिकहरुलाई भेट्न शनिबार मजार-ए-शरिफ शहर पुगेका छन्।

अमेरिकी सेनाका एकजना प्रवक्ताले आक्रमण "ठूलो" भएको भन्दै "बर्बरता"लाई रोक्न सफल भएकोमा अफगान कमाण्डोहरुको प्रशंसा गरे।