'चुनाव दुई चरणमा र संशोधन परिमार्जन गर्ने'

  • 22 एप्रिल 2017
बैठक तस्वीर कपीराइट pm secretariat

सत्तापक्ष र मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनबीच संविधान संशोधन विधेयक परिमार्जन गर्ने र स्थानीय तहको चुनाव दुई चरणमा गर्ने सहमति भएको छ।

द्विपक्षीय शीर्षस्थ बैठकमा त्यस्तो सहमति भएको नेताहरुले जनाएका छन्।

निर्वाचन आयोगसँग परामर्श गरेर सकेसम्म आइतबार नै दुई चरणको निर्वाचनबारे निर्णय गर्ने सहमति भएको संघीय गठबन्धनका नेता लालबाबु राउतले बताए।

उनका अनुसार त्यसपछि गठबन्धन र मोर्चाले आन्दोलन स्थगित गर्ने छ।

कहाँ-कहाँ?

शनिवार करिब ६ घण्टा भएको बैठकमा भएको सहमतिबारे राउतले भने, "संशोधन विधेयक परिमार्जन गरेर द्रुत मार्गबाट पारित गराउने, हामीले आन्दोलन स्थगित गर्ने र सरकारले दुई चरणको निर्वाचन घोषणा गर्ने सहमति भएको छ।"

सत्तापक्षका नेताले प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणमा चुनाव गर्ने सहमति भएको बताएका छन्।

तर निर्वाचन आयोगसँगको परामर्शमा सरकारले त्यसबारे टुंगो लगाउने छ।

विगतका अनिर्णिति बैठकका श्रृंखलामाझ शुक्रबार देखिएको सहमतिको सम्भावनाले मूर्त रुपमा पाएको देखिन्छ।

खाकामा सहमति

शुक्रबार भएको द्विपक्षीय बैठकले संविधान परिमार्जन गर्न संयुक्त कार्यदल बनाएको थियो।

शनिबारको बैठकमा उक्त कार्यदलले पेश गरेको खाका अनुसार विधेयक परिमार्जन गरिने छ।

राउतले भने, "त्यही लिखित सहमति अनुसार सत्तापक्षले विधेयकमाथि संशोधन प्रस्ताव पेश गर्ने छ।"

उनले उक्त विधेयक पारित भएपछि आफूहरु चुनावमा जान तयार भएको बताए।

भद्र

संशोधनको खाका लिखित रुपमा तयार गरिए पनि सिंगो सहमति भने लिखित गरिएको छैन।

उक्त भद्र सहमति लागू भएमा लामो समयदेखि अवरुद्ध राजनीतिलाई निकास पाउने ठानिएको छ।

तर विपक्षी गठबन्धनभित्रबाट समर्थन नपाउँदासम्म विधेयक पारित हुने सम्भावना देखिन्न।

करिब दुई दशकपछि स्थानीय निर्वाचन हुन लागेको हो।

जनप्रतिनिधिको अभावमा स्थानीय निकायमा विकाश निर्माणका काम प्रभावकारी हुन नसकेको र अनियमितताले प्रोत्साहन पाएको टिप्पणी हुने गरेका थिए।

तर दलहरु विगतमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकार गठनमा उदासीन रहँदै आएका थिए।