वैज्ञानिकहरुद्वारा विश्वव्यापी प्रदर्शन

  • 22 एप्रिल 2017
पोस्टर तस्वीर कपीराइट Reuters

संसारभरका ५०० शहरमा विज्ञानको समर्थनमा ठूलो अभियान गरिंदैछ।

'मार्च फर साइन्स' अर्थात विज्ञानको पक्षमा प्रदर्शन भनिएको सो अभियानमार्फत तथ्य र प्रमाणमाथिको बढ्दो राजनीतिक आक्रमणको विरोध गरेको प्रदर्शनकारीहरुले बताएका छन्।

जलवायु परिवर्तनलाई छल भनेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अमेरिकाका वैज्ञानिक निकायहरुलाई दिइने रकम कटौती गर्ने योजनाविरुद्ध सो कदम चालेको त्यो विश्वव्यापी कार्यक्रमका आयोजकले बताएका छन्।

सो अभियानकी एकजना मानार्थ सह-अध्यक्ष लिडिया भिला-कोमारोफले वैज्ञानिकहरुले आफ्नो आवाज सुनाउन चाहेको बताएकी छिन्।

'विज्ञानमाथि आक्रमण'

विज्ञान जोखिममा परेको हुनाले त्यस्तो कदम चाल्न आवश्यक भएको र नीति निर्माण गरिने टेबलमा विज्ञानको उपस्थिति हुनु जरुरी भएको उनले बताइन्।

विविध क्षेत्र र तहका वैज्ञानिकहरुको उपस्थिति भएकाले त्यो अभियानलाई वामपन्थी राजनीतिज्ञहरुको अभियान भन्न नसकिने उनको विचार छ।

तर तटीय भूगर्भशास्त्रका एकजना प्राध्यापक रबर्ट यङले भने त्यस्तो किसिमको जुलुस वामपन्थी राजनीतिज्ञहरुले आयोजना गर्ने परम्परा रहेकाले त्यो अभियान विज्ञानमा नभएर राजनीतिमा केन्द्रित छ भन्ने अर्थ लाग्न सक्ने र ती वैज्ञानिकहरुलाई वामपन्थी धारका वातावरणप्रेमीका रुपमा लिइन सक्ने खतरा पनि रहेको बताएका छन्।

'चिन्ताजनक'

अन्य वैज्ञानिकले भने विज्ञान खतरामा परेकाले राजनीतिक कदम चाल्नैपर्ने अवस्था आएको र निष्क्रिय रहने विकल्प बाँकी नरहेको बताएका छन्।

भाषाविद् एरिक जार्भिसले इतिहासमै पहिलोपटक वैज्ञानिकहरुले विज्ञानको सुरक्षाका हेतु भेला भएर कदम चाल्नुपर्ने स्थिति आउनु भनेको निकै चिन्ताजनक अवस्था आएको बताएका छन्।

संसारको सबैभन्दा शक्तिशाली देशले विज्ञान र तर्कमाथि आक्रमण गरेको भन्दै त्यसलाई विज्ञानमाथि मात्रै होइन मानवतामाथिकै आक्रमण भनेका छन्।