फ्रान्समा कडा सुरक्षाकाबीच मतदान

  • 23 एप्रिल 2017
सुरक्षा तस्वीर कपीराइट AFP

स्थानीय समय अनुसार बिहान ८ बजेदेखि शुरु भएको मतदान साँझ ८ बजेसम्म चलेको थियो।

फ्रान्समा केही दशकयताकै सबैभन्दा अनुमान गर्न नसकिने भनिएको नयाँ राष्ट्रपति चयनका लागि मतदान भएको हो।

चुनावको केही दिनमात्रै अघि गरिएका जनमत सर्वेक्षणहरुले ३० प्रतिशतसम्म मतदाता अझै अनिर्णित रहेको देखाएका थिए।

प्रमुख चार प्रतिद्वन्द्वीमध्ये तीनजना-- इम्यानुएल म्याक्रों, मारिन ल पेन र जा लुक मेलासों--पुरानो राजनीतिक वृत्तभन्दा बाहिरका हुन्।

बहुमत

उनीहरुका अनुदारवादी प्रतिद्वन्द्वी फ्रास्वां फियोले चाहिँ पछिल्दा दुई दशकमा विभिन्न मन्त्रालय सम्हालिसकेका छन्।

कुनै पनि उम्मेदवारमध्ये बहुमत ल्याउन नसक्ने देखिएको छ, जसको अर्थ बढी मत ल्याउने दुई उम्मेदवारबीच दुई साताभित्र अर्को चरणमा प्रतिस्पर्धा हुनेछ।

तस्वीर कपीराइट AFP

चुनावी प्रतिस्पर्धामा चाहिँ जम्मा ११ जना उम्मेदवार उत्रिएका छन्।

सबै उम्मेदवारले युरोप, आप्रवासन, अर्थतन्त्र तथा फ्रान्सको पहिचानबारे नयाँ दृष्टिकोण पेस गरेका छन्।

कडा सुरक्षा

अलोकप्रियताका कारण वर्तमान राष्ट्रपति फ्रास्वां ओलान्डले उम्मेदवारी दिएका छैनन्।

आधुनिक फ्रान्सको इतिहासमा अर्को कार्यकालका लागि उम्मेदवारी नदिने उनी पहिलो राष्ट्रपति बनेका छन्।

एकजना इस्लामवादी लडाकुको आक्रमणबाट बिहीबार एक प्रहरी मारिएको पृष्ठभूमिमा चुनावलाई मध्यनजर गर्दै देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ।

मतदाता सुरक्षाका निम्ति देशभर ५० हजार प्रहरी र सात हजार सेना परिचालन गरिएको अधिकारीहरुले बताएका छन्।