‘उत्तर कोरियाद्वारा एक अमेरिकी नियन्त्रणमा’

  • 23 एप्रिल 2017
तनाव तस्वीर कपीराइट Reuters

उत्तर कोरियाले देश छाड्न लागेका एकजना अमेरिकी नागरिकलाई प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन्।

ती व्यक्तिको थर मात्रै खुलाइएको छ, र उनको थर किम हो।

उत्तर कोरियाद्वारा नियन्त्रणमा लिइएका उनी तेस्रो अमेरिकी हुन्।

गत वर्षको जनवरीमा उत्तर कोरिया घुम्न गएका बेला एउटा होटलबाट प्रचारबाजी गर्ने एउटा सामाग्री चोरेको आरोपमा २१ वर्षीय अमेरिकी विद्यार्थीलाई गिरफ्तार गरिएको थियो।

तनाव

गत वर्षको एप्रिलमा जासुसी गरेको आरोप एक ६२ वर्षीय अमेरिकी नागरिकलाई उत्तर कोरियाले १० वर्षको कडा श्रम सजाय सुनाएको थियो।

कोरियाली प्रायद्वीपमा तनाव उत्कर्षमा पुगेका बेला अमेरिकी नागरिक उत्तर कोरियामा नियन्त्रणमा परेका छन्।

हालै अमेरिकाले उत्तर कोरियाली पारमाणविक कार्यक्रमलाई लिएर आफ्नो "रणनीतिक धैर्य" समाप्त भएको बताएको थियो।

यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले समेत चीनले साथ नदिए पनि आफ्नो देशले उत्तर कोरियाली खतरासँग एक्लै जुध्ने बताएका थिए।

लडाकु विमान बोक्ने जहाजसहित अमेरिकी जल सेनाको एउटा समूह यसै हप्ताको अन्त्यतिर कोरियाली प्रायद्वीपमा पुग्दैछ।

पूर्व प्राध्यापक

दक्षिण कोरियाली समाचार संस्था योन्हापका अनुसार नियन्त्रणमा लिइएका ५० वर्षीय अमेरिकी नागरिक चीनको एउटा विश्व विद्यालयका पूर्व प्राध्यापक हुन् र राहतसम्बन्धी कार्यक्रमका लागि उनी एक महिनादेखि उत्तर कोरियामा थिए।

उनलाई प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको योन्हापले जनाएको छ।

उत्तर कोरियाले अमेरिकी नागरिकलाई गोट्टीको रुपमा प्रयोग गर्नका निम्ति नियन्त्रणमा लिएको अमेरिकी आरोप रहिआएको छ।

मलेसियामा हालै उत्तर कोरियाली नेता किम जङ-अनका सौतेनी दाइको हत्या गरिएपछि उत्तर कोरियाले प्योङयाङमा रहेका मलेसियाली नागरिकहरुलाई गिरफ्तार गरेको थियो।

र, संदिग्ध हत्यारालाई मलेसियाले रिहा गरेपछि मात्रै उत्तर कोरियाले मलेसियाली नागरिकहरुलाई छाडेको थियो।