पुनर्निर्माण: दोलखामा दक्ष कामदार अभाव

  • 23 एप्रिल 2017
दोलखा
Image caption गाउँमा तालिम लिने युवाहरु नभेटिंदा थप दक्ष कामदार ल्याउन नसकिएको अधिकारीहरुले बताएका छन्।

२०७२ साल वैशाखको विनाशकारी भूकम्पबाट भूकम्प प्रभावित दोलखा जिल्लामा पर्याप्त दक्ष कामदार नपाउँदा पुनर्निर्माण कार्यले सोचेजस्तो गति लिन नसकेको भूकम्प पीडितले बताएका छन्।

निर्माण क्षेत्रमा जनशक्ति कम भएकै कारण निर्माणको लागत बढ्नुका साथै तोकिएको समयमा गुणस्तरीय घर निर्माणमा ढिलाइ भइरहेको उनीहरु बताउँछन्।

तर गाउँमा तालिम लिने युवाहरु नभेटिंदा थप दक्ष कामदार ल्याउन नसकिएको अधिकारीहरुले बताएका छन् भने गाउँका कतिपय युवाले तालिमको अभावमा कामविहीन हुनुपरेको गुनासो गरेका छन्।

पहिलो किस्ताको अनुदानस्वरुप ५० हजार रुपैयाँ पाएकी दोलखा मेलुङ गाउँपालिकाकी विमला आचार्यले घडेरीको माटो सम्याएको करिब तीन महिना भइसक्यो।

अधुरै

तर निर्माण सामाग्रीसँगै दक्ष कामदार नपाउँदा अहिलेसम्म घर बनाउन शुरु गर्न सकेकी छैनन्।

उनको जस्तै दोलखाका धेरै भूकम्पपीडितले घर बनाउन शुरु गरेपनि दक्ष कामदारको अभावमा घर निर्माण गर्न नसक्दा यो बर्खामा समेत घरभित्र बस्ने सपना अधुरै हुने भन्दै चिन्तित देखिन्छन्।

मापदण्ड अनुसारको घर निर्माणका लागि गाउँमा भएका तालिमप्राप्त दक्ष कामदार कम भएका कारण पालो गरेर घर बनाउनुपर्ने बाध्यता रहेको उनीहरु बताउँछन्।

एक भूकम्प पीडित जगत नेपालीले भने, "छ महिना भइसक्यो खोइ काम गर्ने मान्छे नै पाइँदैन। जग हालिसकेपछि तालिमप्राप्त मान्छे चाहिन्छ भन्छन् तर कोही पाइँदैन।"

निजी आवास निर्माणदेखि पुल, सडक, विद्यालय लगायत संरचना पुनर्निर्माणका लागि आवश्यक दक्ष कामदारको माग बढेको छ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय दोलखाका अनुसार अरुलाई सीप सिकाउन सक्ने खालको तालिमप्राप्त डकर्मी मात्र जिल्लामा ८ हजारभन्दा बढी आवश्यक पर्छ तर अहिले करिब ३ हजारमात्र उपलब्ध छन्।

अभाव

पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिका सचिवालय दोलखाका प्रमुख सागर आचार्य वैदेशिक रोजगारीमा गएका कारण गाउँमा युवाहरु नपाइने हुँदा थप दक्ष कामदार ल्याउन समस्या भएकाले पुनर्निर्माणको काम निकै प्रभावित बनेको बताउँछन्।

उनले भने, "गाउँमा खाली वृद्ध वृद्धा मात्र भेटिन्छन्, तालिम दिनका लागि युवा खोज्दा गाउँमा कोही पनि पाइँदैन।"

Image caption देशमै रोजगारीका अवसर नहुँदा युवा जनशक्ति विदेश पलायन हुने क्रम नरोकिएको कतिपय युवाको तर्क छ।

तर दक्ष तथा अर्धदक्ष जनशक्तिलाई स्वदेशमै पुनर्निनिर्माण कार्यमा रोजगरी दिन सकिन्छ भन्ने ग्यारेन्टी राज्यले दिन नसक्दा युवा जनशक्ति विदेश पलायन हुने क्रम नरोकिएको कतिपय युवाको तर्क छ।

दोलखाको उत्तरी गौरीशंकर गाउँपालिकाका एकजना युवा निमाछिरी शेर्पा भन्छन्, "सरकारले तालिम दिने भनेको सुनिछ तर हातमा सीप नभइ कसले पो काम दिन्छ र? त्यसैले विदेश जानुपर्ने बाध्यता छ।"

निर्माण सामाग्रीका साथै पुनर्निणको काममा मुख्य भूमिका रहने दक्ष कामदारको अभाव हुनु र प्रभावित क्षेत्रमा खटिएका इञ्जिनियरले पनि सेवा सुविधा कम भएको भन्दै काम छाड्ने क्रम बढेपछि तोकिएको समयमा क्षतिग्रस्त संरचनाको दिगो तरिकाले पुनर्निर्माण गर्न चुनौती थपिएको छ।

समयमै ती समस्यालाई सम्बोधन नगरिए पुनर्निर्माणसम्बन्धी लक्ष्य हासिल गर्ने समय अझ लम्बिन सक्ने धेरैको बुझाई छ।