अफ्गान रक्षामन्त्री र सेनापतिको राजीनामा

  • 24 एप्रिल 2017
खतरा तस्वीर कपीराइट EPA

अफ्गानिस्तानमा सेनामाथि भएको एक दशकभन्दा बढी समययताकै एउटा ठूलो आक्रमणपछि त्यहाँका रक्षामन्त्री र प्रधान सेनापतिले पदबाट राजीनामा दिएका छन्।

रक्षामन्त्री र प्रधानसेनापतिले राजीनामा दिएको निर्णय राष्ट्रपति कार्यलयबाट जारी एक हरफको विज्ञप्तिमा जानकारी दिइएको हो।

त्यसमा कुनै कारण भने खुलाइएको छैन् तर उक्त तालेबानी हमलापछि आफगानिस्तानमा आक्रोश एकदमै बढेको छ।

तालेबान लडाकुले मजार-ए-शरिफ शहरस्थित एउटा सैन्य अखडामा गत शुक्रबार हमला गर्दा कैयौं सैनिक मारिएका थिए।

पहिचान

यद्यपि मारिएका सैनिकहरुको संख्या अझै स्पष्ट भइसकेको छैन।

कतिपय रिपोर्टहरुका अनुसार मृतकहरुको संख्या दुई सयसम्म हुन सक्छ।

तस्वीर कपीराइट Reuters

बीबीसीसँग कुरा गर्दै अन्य अधिकारीहरुले १३६ जनाले ज्यान गुमाएको बताएका छन्।

जसमध्ये १२४ जनाको शव उनीहरुका परिवारलाई बुझाइएको र १२ जनाको पहिचान गर्न नसकिएको बताएका छन्।

सो सैन्य शिविरमा पुगेका एकजना बीबीसी संवाददाता भन्छन्, त्यहाँका भित्ताहरुमा गोलीले प्वाल पारेका र रगत लत्पतिएका दागहरु देखिन्छन्।

आत्मघाती

तालेबान लडाकुहरुले सैनिक पोशाक लगाएर हमला गरेका थिए र को कुन पक्षको हो भनेर सैनिकहरुलाई चिन्न एकदमै गाह्रो भएको थियो।

ज्यान गुमाउनेमा उक्त सैन्य अखडामा भर्खरै तालिम गरिरहेका सिपाहीहरु थिए।

प्रत्यक्षदर्शीहरुले को आफ्नो साथी र को आफ्नो दुश्मन हो भनेर उनीहरुलाई निर्क्यौल गर्न निक्कै कठिन भएको बताएका छन्।

समाचारहरुमा हमलाकारीहरु बन्दुक र ग्रिनेडसहित आएको र केहीले आत्मघाती भेस्ट समेत लगाएको जनाइएको छ।

अफगानिस्तानको रक्षा मन्त्रालयले सबै आक्रमणकारीहरु मारिएको जनाएको छ।