खेलकुद संरचनाको पुनर्निर्माण सुस्त

  • 24 एप्रिल 2017
दशरथ रंगशाला
Image caption देशकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला पुनर्निर्माण नहुँदा त्यहाँ हुने खेल गतिविधि ठप्पप्रायः छन्।

विनाशकारी भूकम्प गएको दुई वर्ष पूरा हुन लाग्दा समेत त्यसबाट क्षति पुगेका मुख्य खेलकुद संरचनाहरुको पुनर्निर्माणमा खासै प्रगति देखिएको छैन।

भूकम्पले काठमाण्डूको दशरथ रंगशालासहित देशभरका झण्डै दुई दर्जन खेल पूर्वाधारमा क्षति पुगेको थियो।

तर पुनर्निर्माणको काममा प्रगति हुन नसकेपछि हजारौं खेलाडीहरुको प्रशिक्षणमा असर परिरहेको बताइन्छ।

खेलाडीहरुले स्तरीय प्रशिक्षणबाट वञ्चित हुनुपरेको गुनासो गरिरहेका छन् भने अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजनामा खासगरी फुटबल खेलले त्यस्तो आयोजना गुमाउनुपरेको जनाएको छ।

सरकारी अधिकारीहरुले भने झन्झटिलो प्रशासनिक प्रक्रियाका कारण पुनर्निमाणमा ढिलाइ भएको बताएका छन्।

क्षति

राष्ट्रिय खेलकुद परिषद्ले तयार पारेको विपद्पछिको आवश्यकता आंकलन प्रतिवेदन अनुसार भूकम्पले नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालासहित देशका विभिन्न स्थानमा रहेका ३० वटा साना ठूला पूर्वाधारहरुमा क्षति पुगेको छ।

तर भूकम्प गएको दुई वर्ष पूरा हुन लाग्दा समेत पुनर्निर्माणको काम अगाडि बढ्न नसकेपछि खेलकर्मीहरु चिन्तित देखिएका छन्।

भर्खरै मात्र दशरथ रंगशालाको क्षतिको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको खेलकुद परिषद्को इन्जिनियरिङ शाखाले जनाएको छ।

उक्त शाखाका इन्जिनियर विश्वमित्र सञ्ज्यालले भने," रंगशालाको केही भागमा नयाँ निर्माण गर्नुपर्नेछ भने केही भागमा सबलीकरण अर्थात रेट्रोफिटिङ गर्नुपर्ने भएको छ। भीआइपी प्यारापिटको छाना भत्काउनुपर्ने छ। त्यसलाई रेट्रोफिटिङ गरेर नयाँ निर्माण गर्नुपर्ने छ। पश्चिम प्यारापिटतर्फको केही भाग पनि नयाँ निर्माण गर्नुपर्ने भएको छ। सिन्थेटिक ट्रयाक पनि नयाँ निर्माण गर्नुपर्ने प्रतिवेदनमा देखिएको छ।"

प्रतिक्षा

राष्ट्रिय खेलकुद परिषद्ले देशभरमा गरी १४ वटा कवर्ड हल, ८ वटा रंगशाला, केही जिल्ला खेलकुद समितिका भवनहरु र केही एकेडेमीहरुमा क्षति पुगेको प्रतिवेदन भूकम्प लगत्तै तयार पारेको थियो।

त्यसमध्ये ९० प्रतिशतभन्दा बढी भत्किएका संरचनाहरुको मर्मत भएको देखिएको छैन।

Image caption भूकम्पले दशरथ रंगशाला लगायत देशभरका ८ वटा रंगशालामा क्षति पुगेको बताइएको छ।

संरचना भत्किएपछि खेल अधिकारीहरुले बजेटको प्रतीक्षामा बसिरहेको बताएका छन्।

सातदोबाटोस्थित स्क्वास सेन्टर निर्माणको बजेट पर्खिरहेको नेपाल स्क्वास संघका महासचिव सुरेश गुरुङले बताए।

उनले भने, " स्क्वास सेन्टर बनाउनका लागि भनेर सबै विवरण पेश गरेको थिएँ। उनीहरुले भूकम्पको बजेट आएपछि त्यसमा समावेश गर्छु र निर्माण थाल्छु भनेका थिए। तर त्यसपछि सबैजना चुपचाप नै छन्।"

खेलकुद परिषद्ले पूर्वाधार मर्मतको लागि झण्डै १ अर्ब ८० करोड रुपैयाँ खर्च हुने अनुमान विपद्पछिको आवश्यकता आंकलन गरेको थियो।

तर खेलकुद मन्त्रालय वा राष्ट्रिय खेलकुद परिषद्ले बजेटको लागि सरकारको कुनै निकायसँग माग गरेको भने देखिएको छैन।

यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रहिसकेका र हाल खेलकुद मन्त्रालयमा सरुवा भएका मत्रालयका प्रवक्ता राम थपलिया पुनर्निर्माणको लागि बजेटको माग नै नभएको बताउँछन्।

उनले भने, "पुनर्निर्माण प्राधिकरणबाट पनि हामीले थप स्रोत प्राप्त गर्न सक्छौं। तर त्यसको लागि मन्त्रालयबाट पहल भएको मलाई थाहा छैन।"

परिषद्का अधिकारीहरु खेलकुदमा आएको पूर्वाधार बजेटकै सदुपयोग गर्न नसकिरहेकोले पुनर्निर्माणको लागि थप बजेट माग्न पहल नगरिएको हो।

झन्झटिलो

चालू आर्थिक वर्षमा सरकारले एक अर्बभन्दा बढी बजेट खेलकुदको लागि छुट्याएको छ।

तर खेलकुद परिषद्का अधिकारीहरु भने सरकारको झन्झटिलो प्रक्रियालाई दोष दिन रुचाउँछन्।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले भने," सिंहदरबार बनेको छैन। धरहरा बनेको छैन। हाम्रो मात्र होइन नि कुन चाहिँ काम समयमा बनेको छ र नेपालमा ? खेलकुदले मात्र गर्न सकेको होइन नि त। यसको मतलब के हो भने सरकारको प्रक्रिया नै ढिलो र झन्झटिलो छ।"

परिषद्का अनुसार केही ठूला पूर्वाधार निर्माणको विस्तृत परियोजना प्रतिवेदन बन्ने तयारी भने अन्तिम चरणमा पुगिसकेको छ।

जिल्लाका पूर्वाधार बनाउन खेलकुद मन्त्रालयले सबै जिल्लामा एक करोड बजेट दिने निर्णय पनि गरिसकेको मन्त्रालयले जनाएको छ।

अनुगमन

खेलकुदमन्त्री दलजीत श्रीपाइलीले पुनर्संरचनामा ढिलाई भएको स्वीकार्दै त्यसको अनुगमनका लागि समिति बनाएको बताएका छन्।

उनले भने, " कामको गतिमा ढिलाई भएको छ। शुरुमा कागजी प्रक्रियाले गर्दा पनि ढिला हुन गएको हो। तर अर्को वर्षसम्ममा यसको गति बढ्ने मलाई विश्वास छ। मेरो नेतृत्वमा रहेको अनुगमन समितिले पनि ढिला भएको स्थानको अनुगमन गर्नेछ।"

ढिलाई कै कारण यसपालि खेलकुद पूर्वाधारमा आएको बजेटको अधिकांश बजेट फिर्ता हुने स्थितिमा पुगेको खेलकुद परिषद्ले जनाइसकेको छ।

खेलाडीहरु भने हालकै गतिमा काम भएमा खेल पूर्वाधार निर्माणमा निकै समय लाग्ने र यसले प्रशिक्षणमा लामो समयसम्म असर पर्ने बताउँछन्।