फ्रान्समा मध्यपन्थी म्याक्रोंलाई समर्थन बढ्दो

  • 24 एप्रिल 2017
माक्रों तस्वीर कपीराइट AFP

फ्रान्समा आगामी महिना हुने राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा मध्यमार्गी एम्यानुएल म्याक्रोंले अति दक्षिणपन्थी नेतृ मरीन ल पेनको सामना गर्नेछन्।

निवर्तमान राष्ट्रपति फ्राँस्वा ओलाँदले निर्वाचनको दोस्रो चरणमा म्याक्रोंलाई मत दिन मतदाताहरुलाई आह्वान गरेका छन्।

म्याक्रोंकी प्रतिद्वन्द्वी मरीन ल पेन विरुद्ध कडा चेतावनी दिंदै उनले फ्रान्सका जनतालाई एकताबद्ध गराउने मूल्यहरुको बचाउ म्याक्रोंले गर्ने बताए।

निर्वाचनको पहिलो चरणमा हार व्यहोरेका मूलधारका पार्टीहरुले दोस्रो चरणमा अति दक्षिणपन्थी मारीन ल पेनलाई जित्न नदिने प्रयासमा म्याक्रोंलाई समर्थन गरेका छन्।

युरोपका नेताहरुले पनि म्याक्रोंको समर्थन गरेका छन्।

नवागन्तुक

भूतपूर्व ब्यांकर म्याक्रोंलाई राजनीतिक नवागन्तुकका रुपमा हेरिएको छ।

उनी कुनै स्थापित राजनीतिक पार्टीको समर्थन विना उम्मेदवार बनेका थिए।

आइतबार भएको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएपछि आगामी मे महिनाको सात तारिखमा हुने दोस्रो चरण उनले जित्ने अपेक्षा गरिएको छ।

उनी राष्ट्रपति फ्राँस्वा ओलाँदको कार्यकालमा अर्थमन्त्री थिए, तर आफ्नै पार्टी खोल्नका लागि उनले त्यो पद छोडेका थिए।

उम्मेदवार

छ दशकमा पहिलोपटक फ्रान्सको मूलधारका वामपन्थी र दक्षिणपन्थी दलका कोही पनि उम्मेदवार दोस्रो चरणमा पुगेका छैनन्।

मरीन ले पेनले सन् २०११ को ज्यानुअरी महिनामा पार्टीको नेतृत्व सम्हालेकी थिइन् जुन पदमा त्यो भन्दा अघि उनका बुवा थिए।

उनले क्षेत्रीय निर्वाचनमा पार्टीलाई जित्न मद्दत गरेकी थिइन्।

उनले आइतबारको निर्वाचनमा ७६ लाख मत पाएकी थिइन् जुन उनको पार्टीका उम्मेदवारले अहिलेसम्म पाएको सबैभन्दा धेरै मत हो।

उनको पार्टीले आप्रवास घटाउन, स्वतन्त्र व्यापार नियन्त्रण गर्न र युरोपसंग फ्रान्सको सम्बन्ध उल्ट्याउन खोजेको छ।

सम्भाव्य चुनौती

ल पेनको पार्टीले बाहेक धेरैजसो अन्य पार्टीले म्याक्रोंलाई समर्थन गर्न थालेको हुनाले आगामी राष्ट्रपति म्याक्रों नै हुने निश्चित प्रायः भएको संवाददाताहरु बताउँछन्।

उनान्चालीस वर्षीय म्याक्रोंले चुनाव जितेमा उनी फ्रान्सका सबैभन्दा कान्छा राष्ट्रपति बन्नेछन्।

तर संसदमा आफ्ना उम्मेदवारहरुलाई निर्वाचित गराउन भने म्याक्रोंका लागि चुनौतीपुर्ण हुनसक्छ, किनकि त्यहाँ रिपब्लिकन पार्टी र समाजवादी पार्टी जस्ता स्थापित दलले धेरैजसो स्थान ओगटेका छन्।

आफ्नो पार्टीको बहुमत विना म्याक्रोंलाई आफ्ना नीतिहरु पारित गराउन चुनौतीपूर्ण हुनसक्छ।

विश्लेषण

केही मतदाताहरु भने पहिलो चरण जितेका दुबै उम्मेदवारसंग असन्तुष्ट छन्।

इयुबाट बाहिरिने पक्षम ब्रिटनेको मत र अमेरिकामा डोनल्ड ट्रम्पको निर्वाचनले उदारवादी मूल्यहरुलाई चुनौती दिएको सन्दर्भमा विश्लेषकहरु र विश्वका नेताहरुले फ्रान्सको निर्वाचनलाई नजीकबाट हेरिरहेका छन्।

पहिलो चरणको नतीजा आउँदा म्याक्रोंले इयुको झण्डा अगाडि उभिएर देशलाई सम्बोधन गरेका थिए र त्यो कुरालाई इयुको पक्ष र विपक्षमा रहेका अर्थात दुबै तर्फका राजनीतिज्ञहरुले ख्याल गरेका थिए।