उत्तर कोरियाबारे छलफल गर्न सिनेटरहरुलाई ह्वाइट हाउसमा निम्तो

  • 25 एप्रिल 2017
उत्तर कोरिया तस्वीर कपीराइट AFP

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु र क्षेप्यास्त्र परीक्षण विरुद्ध नयाँ प्रतिबन्धहरु लगाउन राष्ट्रसंघीय सुरक्षा परिषद तयार हुनुपर्ने बताएका छन्।

सुरक्षा परिषदका सदस्य राष्ट्रका राजदूतहरुलाई बोलाएर उनले उत्तर कोरिया विश्वका लागि वास्तविक खतरा रहेको र यथास्थिति अस्वीकार्य रहेको धारणा राखेका हुन्।

उत्तर कोरियाले आफ्नो सशस्त्र बल स्थापना भएको ८५ औँ वर्षगाँठ मनाउने तयारी गरिरहेको छ र यस्ता अवसरहरुमा प्योङयाङले प्राय जसो व्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गर्ने गरेको छ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरिया सम्बन्धी गोप्य व्रिफिङका लागि बुधवार सिनेटका सबै १०० जना सदस्यहरुलाई व्हाइट हाउसमा बोलाएका छन्।

सामान्य

उक्त ब्रिफिङमा अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन र रक्षा मन्त्री जेम्स म्याटिस पनि सहभागी हुनेछन्।

पछिल्ला दिनमा वासिङटन उत्तर कोरियाको परमाणु र क्षेप्यास्त्र कार्यक्रम उसका छिमेकी र अमेरिकाका लागि जोखिमपूर्ण बन्दै गइरहेको निष्कर्षमा पुगेको जस्तो देखिन्छ।

उत्तर कोरियाको मुख्य साझेदार चीनले सबै पक्षलाई संयम अपनाउन आग्रह गरिरहेको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति ट्रम्पबीच शनिबार भएको टेलिफोन कुराकानीमा पनि उत्तर कोरियाको प्रसङ्ग उठेको थियो।

तस्वीर कपीराइट EPA

चिनियाँ विदेश मन्त्रालयका अनुसार राष्ट्रपति सीले सबै पक्षले संयम अपनाउनुपर्ने र तनाव बढाउनसक्ने कुनै पनि गतिविधि गर्न नहुनेमा जोड दिएका थिए।

राष्ट्रपति ट्रम्पले चाहिं उनकै शब्दमा कोरियाले निरन्तर रुपमा युद्धमा देखाउने जस्तो व्यवहार प्रदर्शन गरेर कोरियाली प्रायद्वीपमा अस्थिरता निम्त्याएको आरोप लगाए।

तस्वीर कपीराइट AFP/GETTY IMAGES

ह्वाइट हाउसका अधिकारीहरु राष्ट्रिय सुरक्षाका बिषयमा जानकारी दिन अमेरिकी संसदमा निरन्तर जाने गर्छन् तर यसरी ह्वाइट हाउसमा सिनेटका सबै सदस्यलाई बोलाइनु चाहिं असामान्य हो।

ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसरलाई नियमित पत्रकार सम्मेलनमा यसबारे प्रश्न पनि सोधिएको थियो तर उनले त्यसको जवाफ सिनेटका बहुमत पक्षधर नेता मिच मेकोनलसँग सोध्न आग्रह गरे।

श्रोतहरुले रोयर्टस समाचार संस्थालाई अमेरिकी तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभले पनि कोरियाबारे त्यस्तै ब्रिफीङ चाहिरहेको बताएका छन्।

युद्धपोत

वासिङटनले आक्रमणकारी दस्ता सहितको कार्ल भिन्सन नामक उसको युद्धपोत केही दिनमै कोरियाली प्रायद्वीपमा पुग्न लागेको जनाएको छ।

तस्वीर कपीराइट Reuters

यसअघि उक्त युद्धपोत कहाँ पुग्यो भन्नेबारेमा एक आपसमा बाझिने विवरण आएका थिए।

उत्तर कोरीयाली सञ्चार माध्यमहरुले चाहिं उक्त युद्धपोतलाई नष्ट गरिदिने गरि तम्त्यार अवस्थामा देशको सेना रहेको जनाएका छन्।

उत्तर कोरियाले अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै आफ्नो क्षेप्यास्त्र परिक्षणहरु जारी राख्ने वाचा गरेको छ र विज्ञहरुले उसले अर्को परमाणु परीक्षणको तयारी गरिरहेको जनाएका छन्।

एप्रिल १६ मा उसले गरेको व्यालेस्टीक क्षेप्यास्त्रको परीक्षण विफल भएको थियो।

प्योङयाङले अमेरिकासम्म परमाणु बम पुर्याउनसक्ने क्षेप्यास्त्र प्रविधि विकास गर्ने हो कि भन्ने चिन्ता वासिङटनको रहेको छ।

बेइजिङ चाहिं कोरियाली प्रायद्वीपमा हुने युद्धको अवस्थाले उत्तर कोरियाली नेता किम जङ उनको शासन ढल्न सक्ने आंशका गरिरहेको छ।

त्यस्तो अवस्थामा शरणार्थी समस्या सृजना हुनसक्ने र त्यसले आफ्नो सीमा क्षेत्रमा अमेरिकी उपस्थिति निम्त्याउन सक्ने चिन्ता चीनको छ।