पुनर्निर्माणमा महिलाको हातेमालो

  • 25 एप्रिल 2017
सानुमाया कुमाल
Image caption नेपालको पुनर्निर्माणलाई सानुमाया जस्ता महिलाको खाँचो छ

दुई वर्ष अगाडिको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणको गति सुस्त छ। तर कैयौं ग्रामीण क्षेत्रमा महिलाहरुले परम्परा विपरित निर्माणका औजार उठाइ यो प्रक्रियालाई गति दिन सघाएका छन्।

नुवाकोटकी सानुमाया कुमाल बालुवा र इंटा बोक्नेदेखि लिएर जग खन्ने सबै काममा सरिक छिन्।

उनी र उनीजस्तै महिला उक्त भूकम्प प्रभावित जिल्लामा भत्किएका घर बनाउन लागि परेका छन्।

परम्परा विपरित

परम्परागत रुपमा नेपालमा महिलाहरु घरधन्दामै व्यस्त हुने गर्छन्। तर थुप्रै पुरुष विदेशमा काम गर्न गएपछि यो चुनौतिपूर्ण घडीमा देशलाई दक्ष कामदारको अभाव खट्कियो - त्यसैले सानुमाया अघि सरिन्।

"म आफ्नो कामबाट निकै खुशी छु। एक पुरुष डकर्मीले गर्ने सबै काम म गर्न सक्छु," विगतमा खेतबारीमा काम गर्न अभ्यस्त सानुमायाले भनिन्।

अचेल उनी गारो लगाउने, प्लाष्टर गर्ने देखि लिएर घरलाई प्रबलीकरण गर्ने काम समेत गर्छिन्।

आधिकारिक आँकडा अनुसार हरेक दिन १५ सय नेपाली युवा कामको खोजीमा विदेश जान्छन्।

Image caption पुनर्निर्माणमा सामेल ग्रामीण महिला यो काम गर्न पाउँदा खुशी देखिन्छन्

यसले देशभित्र श्रमको ठूलो खाँचो उत्पन्न भएको र त्यसले पुनर्निर्माणका गतिविधि समेत प्रभावित भएको अधिकारीहरुले बताएका छन्।

तर दुई वर्ष अगाडिको भूकम्पले ध्वस्त भएका क्षेत्रहरुमा ती खाँचो पूर्ति गर्ने हिसाबमा थुप्रै महिला पुनर्निर्माणमा अग्रसर भएका छन्।

सीपले दिएको खुशी

भूकम्पका कारण करिब नौ हजारले ज्यान गुमाए भने झण्डै १० लाख घर भत्किए।

थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुले महिलालाई आवश्यक निर्माण सीपबारे तालीम पनि दिइरहेका छन्।

निर्माण काममा सामेल हुन पाउँदा गतिलो आम्दानी भएको मात्र नभइ एउटा महत्वपूर्ण राष्ट्रिय जिम्मेदारी पूरा गर्न पाउँदा खुशी लागेको महिलाहरुले बताएका छन्।

Image caption थुप्रै युवा विदेशिएका कारण पुनर्निर्माणमा दक्ष कामदारको अभाव भएको बताइएको छ

नुवाकोटको विदुरस्थित एक निर्माणस्थलमा बीबीसी सम्वाददाता पुग्दा त्यहाँ सानुमायासहित आठ जना महिला काम गरिरहेका थिए।

उनीसंगै काम गरिरहेकी सृजना कुमाल भन्छिन् आम्दानी राम्रो भएकाले उनी यस काममा रमाइरहेकी छन्।

"कैयौं महिला विदेशमा काम गर्न गएका छन्। तर मैले यहीं देशभित्रै काम गर्ने मौका पाएको छु," उनले भनिन्।

सानुमाया तथा उनका साथीहरुले दैनिक १२ सय रुपियाँ ज्याला पाउँछन्।

सरकारको प्रतिवेदन अनुसार पाँच वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्न सरकारलाई ६० हजार दक्ष डकर्मी आवश्यक पर्नेछ।

तर एकातिर कामदारको अभाव अनि अर्कोतिर भएका कामदारसंग पनि सुरक्षित र भूकम्प प्रतिरोधी घर बनाउने दक्षता नभएकाले समस्या झेल्नु परेको अधिकारीहरुले बताएका छन्।

नेपालको पुनर्निर्माणमा कति महिला सामेल छन् भन्ने भरपर्दो आँकडा उपलब्ध छैन।

संयुक्त राष्ट्रसंघ लगायत अन्य दातृ निकायले घर निर्माण तालीममा आफुहरुले महिलालाई प्राथमिकता दिइरहेको बताएका छन्।