‘चुनावमा सघाउने मोदीको आश्वासन’

  • 25 एप्रिल 2017
वचन

दक्षिणी छिमेकी भारतले आसन्न स्थानीय चुनावमा सहयोग गर्ने आश्वासन दिएको छ।

प्रधानमन्त्री प्रचण्डसँगको फोनवार्तामा भारतीय प्रधानमन्त्रीले त्यस्तो वचन दिएको दुवै पक्षले जनाएका छन्।

तर दुई प्रधानमन्त्रीबीचको वार्ताका कतिपय सन्दर्भबारे दुवैतर्फबाट दिइएको जानकारीमा केही भिन्नता देखिन्छ।

सरकारले मधेशी मोर्चा सहितको संघीय गठबन्धनका माग सम्बोधन गर्ने कदम सरकारले उठाएपछि दुई देशका प्रधानमन्त्रीबीच कुराकानी भएको हो।

कार्यान्वयन

भारतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन प्रक्रियामा सबै सरोकारवालालाई साथ लिने सरकारको जारी प्रयासका विषयमा कुराकानी गर्नुभयो।"

प्रधानमन्त्री प्रचण्डले झण्डै दुई दशकयता पहिलोपटक स्थानीय चुनाव गारउन लागेको बताउँदै त्यसमा भारतको सहयोगको निम्ति आग्रह गरेको भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यसमा मोदीले 'स्थानीय चुनावको निम्ति सम्भव भएका सबै सहयोग गर्ने आश्वासन दिएको' जनाइएको छ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयले भने पछिल्लो राजनीतिक विकासक्रमलाई मोदीले प्रचण्डको सफलताको रुपमा चित्रित गरेको जानकारी दिएको छ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, "भारतीय प्रधानमन्त्रीले निर्वाचनप्रति शुभेच्छा व्यक्त गर्दै त्यसमा पूर्णरुपमा सहयोग गर्ने बताउनुभयो।"

सद्‍भाव

प्रचण्डको वेबसाइटमा 'सबै राजनीतिक शक्तिलाई मिलाएर निर्वाचनमा जानु प्रधानमन्त्री प्रचण्डको सफलता भएको बताउँदै निर्वाचन सम्पन्न गर्न भारत सरकारको पूर्ण सहयोग र सद्‍भाव रहने बताएको' उल्लेख छ।

दुई देशका प्रधानमन्त्रीबीचको फोनवार्ताबारे काठमाण्डूस्थित भारतीय दूतावासले जारी गरेको प्रेस विज्ञप्तिको विवरण प्रधानमन्त्री नरेन्द्र मोदीको वेबसाइटमा समेत हुबहु राखिएको छ।

जसमा प्रचण्डले मोदीलाई टेलिफोन गरेको उल्लेख गरेको छ।

प्रचण्डको सचिवालयले भने मोदीले फोन गरेको जनाएको छ।

स्थानीय तहको चुनाव घोषणा भएको लामो समय भारत मौन थियो।

संविधान जारी भएदेखि नै रुष्ट उसले समाजका सबै पक्ष र तप्काको निम्ति संविधानको स्वीकार्यता बढाउने अपेक्षा प्रकट गर्दै आएको छ।