अमेरिकी पनडुब्बी दक्षिण कोरियामा

  • 25 एप्रिल 2017
USS Michigan तस्वीर कपीराइट Reuters

उत्तर कोरियाले फेरि परमाणु वा अन्य क्षेप्यास्त्र परीक्षण गर्ने चिन्ता बढिरहँदा एक अमेरिकी पनडुब्बी दक्षिण कोरिया पुगेको छ।

युएसएस मिशिगन नाम गरेको उक्त पनडुब्बी कोरियाली प्रायद्वीपमा अमेरिकाबाट आउँदै गरेको कार्ल भिन्सन नामक विमानवाहक जहाज युद्धपोतको नेतृत्वमा आउने युद्धपोतहरुको समूहहरु संगै मिसिने छ।

उत्तर कोरियाले मंगलबार आफ्नो सशस्त्र बल स्थापना भएको ८५ औं वर्षगाँठ मनाइरहेको छ।

विगतमा उसले क्षप्यास्त्र परीक्षण गरेर आफ्ना प्रमुख दिवसहरु मनाउने गरेको थियो।

सैन्य अभ्यास

केही सातायता अमेरिका र उत्तर कोरियाबीच भइरहेको चर्को शब्दहरुको आदानप्रदानले सो क्षेत्रमा तनाव बढेको छ।

विशेषज्ञहरुले प्योङ्याङ्गले अझै धेरै परीक्षण गर्ने योजना बनाइरहेको हुन सक्ने भय व्यक्त गरेका छन्।

तर दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरमा "कुनै पनि अस्वाभाविक गतिविधि भएको पत्ता नलागेको" बताएको छ।

बरु उत्तर कोरियाले सक्कली गोलीबारुदको प्रयोग गरेर वोनसान शहर वरपर ठूलोस्तरको सैन्य अभ्यास गरेको दक्षिण कोरियाले बताएको छ।

अनुगमन

सेनाको एक प्रमुख कार्यालयले भनेको छ, "हाम्रा सेनाले उत्तर कोरियाको सेनाको गतिविधि नजिकबाट अनुगमन गरिरहेको छ।"

उत्तर कोरियाले एप्रिल १६ मा ब्यालेस्टिक क्षेप्यास्त्रको विफल परीक्षण गरेको थियो।

यसले अमेरिकी उपराष्ट्रपति माइक पेन्सलाई राष्ट्रपति डोनल्ड ट्रम्पको परीक्षा नलिन भनेर चेतावनी दिने अवस्था सिर्जना गरेको थियो।

यसैबीच अमेरिकाले एक अस्वभाविक कदम चाल्दै समग्र अमेरिकी सिनेटलाई उत्तर कोरियाबारे बुधाबार ह्वाइट हाउसमा हुन लागेको ब्रिफिङमा उपस्थित हुनु भनेको छ।