फ्रान्सेली राष्ट्रपतिद्वारा एकताको आह्वान

  • 25 एप्रिल 2017
स्मृति सभा तस्वीर कपीराइट AFP

फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलाँदले गत हप्ता मारिएका एकजना प्रहरीको स्मृतिमा आयोजना गरिएको कार्यक्रममा, उनकै शब्दमा, आतंकवाद विरुद्धको लामो र कठिन युद्धमा एकताबद्ध हुन आह्वान गरेका छन्।

ओलाँद पछि राष्ट्रपति हुने प्रयास गरिरहेका दुबै उम्मदेवार एम्यानुएल म्याक्रों र मरीन ल पेन समारोहमा उपस्थित थिए।

गत बिहीबार ३७ वर्षीय प्रहरी जाभिए झुझेलेलाई प्यारिसमा गोली हानेर मारिएको थियो।

उनी सन् २०१४ देखि राजधानी प्यारिसमा कार्यरत थिए।

'बहादुर'

सन् २०१५ को नोभेम्बर महिनामा इस्लामिक स्टेट भनिने समूहले बताक्लाँको एउटा भवनमाथि आक्रमण गरेपछि उनी त्यो क्षेत्रको सुरक्षामा खटाइएका थिए।

त्यो क्षेत्र गत नोभेम्बरमा खुल्दा झुझेले फेरि त्यहाँ पुगेका थिए र आतंकवादलाई नकार्न र नागरिक मूल्यहरुको बचाउ गर्नका लागि त्यहाँ पुगेको बताएका थिए।

राष्ट्रपति ओलाँदले फ्रान्सले एक बहादुर छोरा गुमाएको भन्दै उनीप्रति सम्मान अर्पण गरे।

समारोहमा राष्ट्रपतीय निर्वाचनका दुई उम्मेदवार पहिलोपटक सार्वजनिक रुपमा एकैसाथ देखिएका हुन्।

मतान्तर

एम्यानुएल म्याक्रों र मरीन ल पेनबीच आगामी मे महिनाको ७ तारिखमा फेरि प्रतिस्पर्धा हुनेछ।

उनीहरु दुई बीच सुरक्षाका विषयमा ठूलो मतान्तर देखिएको छ।

ल पेनले फ्रान्सको सीमाना नियन्त्रण फेरि शुरु गर्न चाहन्छिन् र सन्दिग्ध आतंकवादीको सूचीमा राखिएका सबैलाई देशनिकाला गर्न चाहन्छिन्।

खुला सीमानाका पक्षपाती म्याक्रोंले फ्रान्सका नागरिकलाई भयका सामु नझुक्न आह्वान गरेका छन्।