मृतकको सम्झनामा दीप प्रज्वलन

  • 25 एप्रिल 2017
गोरखाको बारपाक
Image caption सत्तरी जनाभन्दा बढीको ज्यान गएको गोरखाको बारपाकमा मंगलबार साँझ मृतकको सम्झनामा विशेष दीप प्रज्वलन गरिएको थियो।

गोरखा केन्द्रबिन्दु रहेको शक्तिसाली भूकम्प गएको दुई वर्ष पुरा भएको दिन मंगलबार भूकम्पका कारण ज्यान गुमाएका व्यक्तिहरुको सम्झनामा विभिन्न कार्यक्रम गरिएका छन्।

भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाक, काठमाण्डूका विभिन्न मठ मन्दिरमा दिवंगत मानिसहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ।

बारपाकका युवाले शोकलाई शक्तिमा परिणत गर्नुपर्छ भन्दै एउटा सांस्कृतिक कार्यक्रम आयोजना गरेका थिए।

स्थानीय समुदायको अगुवाइमा चलिरहेको संस्था 'काष्ठमण्डप पुनर्निमाणको लागि अभियान' ले विश्व सम्पदा क्षेत्रमा परेको काष्ठमण्डपको पुनर्निर्माणको घोषणा गरेको छ।

विशेष पूजा

त्यसअघि भूकम्पका कारण त्यहाँ ज्यान गुमाएका व्यक्तिहरुको सम्झनामा विशेष पूजा पनि गरिएको थियो।

अर्को पुरातात्विक स्थल बौद्धमा पनि दिवंगतहरुको सम्झनामा विभिन्न कार्यक्रम गरिएको थियो।

२०७२ साल वैशाख १२ गतेको भूकम्पमा करिब ९ हजार मानिसको ज्यान गएको थियो भने पुरातात्विक संरचनासहित लाखौं घरहरु क्षतिग्रस्त हुन पुगेका थिए।

तर भूकम्प गएको दुई वर्ष पुगिसक्दा पनि भत्किएका संरचनाको पुनर्निमाण सुस्त गतिमा अघि बढिरहेको भन्दै सरकारको आलोचना भइरहेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने ढीलै भएपनि कामहरु अघि बढिरहेको बताएको छ।

प्राथमिकता

दोलखाको चरिकोटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले गाउँघरसम्म पुनर्निर्माण फैलिएको बताए।

मंगलबार नै एक मानव अधिकारवादी संस्थाले भूकम्पपछिको पुनर्निर्माणमा सीमान्तकृत समुदाय विशेष गरी भूमिहीनलाई प्राथमिकता दिएर सहयोग उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेको छ।

एउटा प्रतिवेदन सार्वजनिक गर्दै एमनेष्टी इन्टरन्याशनलले नेपाल सरकार पुनर्निर्माण प्रकियामा त्यस्ता समुदायलाई संरक्षण गर्न विफल भइरहेको जनाएको छ।

तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका एकजना अधिकारीले कसैलाई पनि सरकारीस्तरबाट विभेद नभएको र तालिमसहितका पुनर्निर्माणसम्बन्धी विभिन्न कार्यक्रमहरुमा सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको जनाए।

प्राधिकरणका सहप्रवक्ता भिष्मकुमार भुसालले दातृ निकायबाट सञ्चालित आवास निर्माण कार्यक्रममा एकल महिला, ज्येष्ठ नागरिकसहितका सीमान्तकृत समुदायलाई थप ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउन सरकारले अनुमति दिएको पनि बताए।