दक्षिण कोरियामा अमेरिकी प्रतिरक्षा प्रणाली

  • 26 एप्रिल 2017

कोरियाली प्रायद्वीपमा जारी तनावमाझ अमेरिकी सेनाले एक दक्षिण कोरियाली स्थलमा विवादास्पद क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली स्थापना गर्न शुरु गरेको छ।

पहिले गल्फ कोर्स रहेको स्थानमा अमेरिकाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली राख्न लागेको हो।

उत्तर कोरियाली खतराबाट जोगाउने उद्देश्यले टर्मिनल हाड एल्टिच्युड एरिया डिफेन्स नामक प्रतिरक्षा प्रणालीको विकास गरिएको रिपोर्टहरुमा उल्लेख छ।

उपकरणहरु बोकेका सवारी साधन देशको दक्षिणी क्षेत्रमा पुग्दा अमेरिकी कदमको विरोधमा हजारौं स्थानीयबासिन्दाले प्रदर्शन गरेका छन्।

परिचालन

सो क्रममा प्रहरी र केही स्थानीयबासिन्दाबीच झडप समेत भएको थियो।

अमेरिकी प्रतिरक्षा प्रणालीको स्थापनाले सो क्षेत्रमा सुरक्षा स्थिरता हुने चीनले बताएको छ।

उत्तर कोरियाले थप क्षेप्यास्त्र वा पारमाणविक परीक्षण गर्न सक्ने आशंकामा यसअघि नै अमेरिकाले कोरियाली प्रायद्वीपमा युद्धपोत र पनडुब्बी परिचालन गरिसकेको छ।

ट्रम्प प्रशासनले बुधबार अबेर कोरियाली प्रायद्वीपको अवस्थाबारे ह्वाइट हाउसमा सिनेटहरुलाई गोप्य ब्रिफिङ गर्दैछ।

उडान

अमेरिकाले स्थापना गरिरहेको प्रतिरक्षा प्रणालीले सानो र मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्रलाई अन्तिम चरणको उडानका क्रममा रोक्न र ध्वस्त पार्न सक्ने बताइएको छ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले जारी गरेको एउटा विज्ञप्तिमा भनिएको छ, "उत्तर कोरियाली पारमाणविक र क्षेप्यास्त्र खतराको जवाफमा दक्षिण कोरिया र अमेरिकाले टर्मिनल हाड एल्टिच्युड एरिया डिफेन्स प्रणाली सञ्चालनको शुरुवाती चरणको काम गरिरहेका छन्।"

उक्त प्रतिरक्षा प्रणाली स्थापनाबारे अमेरिका र दक्षिण कोरियाबीच गत वर्ष नै सहमति भएको थियो।

प्रतिरक्षा प्रणालीमाथि काम शुरु भएपनि सन् २०१८ को अन्त्यदेखिमात्रै त्यसले काम गर्ने दक्षिण कोरियाले जनाएको छ।