व्यवसाय कर घटाउने ट्रम्पको प्रस्ताव

  • 26 एप्रिल 2017
तस्वीर कपीराइट AFP
Image caption राष्ट्रपति ट्रम्पले प्रस्ताव गरेको कर कटौती अमेरिकी इतिहासकै ठूलो भएको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनको कर योजना घोषणा गर्ने क्रममा बुधबार कर्पोरेशन कर कटौती प्रस्ताव गर्ने भएका छन्।

ह्वाइट हाउसका अधिकारीहरु भन्छन्- बुधबारको घोषणाको केन्द्र व्यवसाय कर कटौती हुनेछ जुन ३५ प्रतिशतबाट १५ प्रतिशतमा झर्नेछ।

अर्थशास्त्रीहरु भन्छन्, ट्रम्पले प्रस्ताव गरेको कर कटौतीले आगामी दशकहरुमा थप दशौं खर्ब डलर घाटा बढ्नेछ।

तर अर्थमन्त्री स्टीभन मनुशीनले भने- नयाँ कर योजना स्वयंले आर्थिक वृद्धिदर बढाउनेछ।

प्रोत्साहन

कर योजनामा ठूला कम्पनीहरुलाई स्वदेश फिर्ती कर पनि हुनेछ जसले ठूला कम्पनीहरुले विदेशमा राखेका रकम स्वदेश फिर्ता ल्याउन प्रोत्साहन मिल्नेछ।

ट्रम्पको कर योजनामा बालबालिका हेरचाह र व्यक्तिगत करसम्बन्धी करको पनि व्यवस्था गरिनेछ।

तर ट्रम्पको योजनामा नयाँ कर उठाउने कुनै प्रस्ताव नहुने ठानिएको छ।

निकै छलफलमा आएको र संसद्का सभामुख पल रायनको रुचिमा रहेको सीमा कर-जसले आयातमा कर लगाउँछ - त्यो भने ट्रम्पको योजनामा हुनेछैन।

र, ट्रम्पले भन्दै आएको ठूला संरचना सुधार योजनासम्बन्धी व्यवस्था पनि हुनेछैन।

बजेट प्रक्रिया

राष्ट्रिय घाटा बढाउने यो योजनाप्रति डेमोक्रेट्सहरुले समर्थन नगर्ने ठानिएको छ।

जसको अर्थ हाउस र सिनेट नियन्त्रण गरेका रिपब्लिकनहरुले उक्त योजनालाई बजेट प्रक्रियामार्फत अगाडि बढ्नुपर्नेछ।

जुन प्रक्रियामा गएपछि ट्रम्पको योजना पारित गर्न रिपब्लिकनहरुलाई डेमोक्रेटहरुको सहयोग आवश्यक पर्नेछैन।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्पले आगामी शरद ऋतुको मध्यसम्ममा कंग्रेसबाट उक्त कर सुधार कार्यक्रम पारित गर्न चाहेका छन्।