क्रिकेटरको रोकिएको तलब आइसीसीले दिने

  • 27 एप्रिल 2017
राष्ट्रिय क्रिकेट टोली

अन्तर्राष्ट्रिय क्रिकेट परिषद, आइसीसी, ले राष्ट्रिय क्रिकेट टोलीमा आवद्ध खेलाडीहरुको रोकिएको १५ महिनाको तलब दिने निर्णय गरेको छ।

बुधवार दुबईमा बसेको आइसीसीको बोर्ड बैठकले आईसीसीको विकास समितिको उक्त प्रस्तावलाई स्वीकृत गरेको हो।

आइसीसीले एक विज्ञप्ती जारी गर्दै नेपाल क्रिकेट संघ निलम्वन भएको अवस्था र विधान निर्माणको प्रकृया अगाडि बढिरहेको बेलामा राष्ट्रिय टोलीमा रहेका खेलाडीहरुको रोकिएको तलब दिने विकास समितिको प्रस्तावलाई स्वीकृत गरिएको जनाएको छ।

निर्णय

आइसीसीको नेपाल हेर्ने प्रतिनिधि भावना घिमिरेले नेपाली खेलाडीहरुले उक्त तलब प्राप्त गर्ने निर्णय भएको बताएकी छिन्।

उनले भनिन् " आइसीसीको बोर्डले उक्त निर्णय गरेको हो। अब खेलाडीहरुलाई आइसीसीले रकम उपलब्ध गराउनेछ।"

नेपाली क्रिकेटको नेतृत्व विवाद चुलिएपछि ठिक एक वर्ष अगाडी आइसीसीले नेपाल क्रिकेट संघलाई निलम्वन गरेको थियो।

तर त्यसको तीन महिना अगाडी नै क्रिकेट अधिकारीहरु विच विवाद वढेपछि खेलाडीहरुको तलब पनि रोकिन पुगेको थियो।

आश्वासन

गत महिना नेपालमा भएको नेपाल र केन्या बीच आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका क्रममा नेपाल आएका आइसीसी प्रतिनिधिहरुले खेलाडीहरुको तलब आइसीसीले उपलब्ध गराउने आश्वासन दिएको बताइन्छ।

नेपाली क्रिकेटमा ए, बी, सी र डी गरी चार तहका २४ जना खेलाडीहरु राष्ट्रिय टोलीमा आबद्ध छन्।

जसमा ए तहमा ६ जना, बी मा ८ जना, सी मा ६ जना र डी मा ४ जना छन्।

तत्कालिन नेपाल क्रिकेट संघले खेलाडीहरुलाई उनीहरुको तह अनुसार क्रमश: ३५ हजार, २५ हजार, १५ हजार र ५ हजार रुपैंया मासिक रुपमा प्रदान गर्दै आएको थियो।

नेपालले आइसीसीबाट प्राप्त गर्दै आएको विकास वजेट र कार्यालय खर्च जस्ता सुविधाहरु भने रोकिएकै अवस्थामा छ।