दमस्कस विमानस्थल नजिक क्षेप्यास्त्र आक्रमण

  • 27 एप्रिल 2017
इजरेलद्वारा सिरियामा क्षेप्यास्त्र आक्रमण तस्वीर कपीराइट AFP

सिरियाले दमस्कस विमानस्थल नजिकै गरिएको क्षेप्यास्त्र आक्रमणका लागि इजरेललाई दोष लगाएको छ।

दमस्कस अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको सैन्य स्थलमा गरिएको इजरेली क्षेप्यास्त्र आक्रमणका कारण ठूलो विष्फोट र आगलागी भएको सञ्चार माध्यमहरुले बताएका छन्।

एउटा इन्धन ट्यांक र भवनमा क्षति पुगेको सना न्यूज एजेन्सीले बताएको छ।

तर सिरियाली विद्रोही श्रोतले भने सरकारी समर्थकका रुपमा लडिरहेको लेबननको हेजबोल्ला अभियानलाई क्षति पुगेको बताएको छ।

विष्फोट

इजरेलले सो हमला, उसकै शब्दमा, इरानले हेजबोल्लालाई हतियार उपलब्ध गराउन नपाओस् भनेर गरिएको नियमित कारवाही भनेको छ।

तर उसले सो हमलाकालागि आफु जिम्मेवार रहेको पुष्टि भने गरेन।

इजरेलले हेजबोल्ला र उसको मुख्य समर्थक इरानलाई सबभन्दा ठूलो खतरा ठान्छ।

इजरेलले सन २००६ मा हेजबोल्लासँग युद्ध गरेको थियो।

अस्वीकार

त्यसयता हेजबोल्ला झन शक्तिशाली बन्दै गएको छ।

ब्रिटेनस्थित द सिरियन अब्जभेटरी फर ह्युमन राइटसले बिहीबार बिहानै भएको शक्तिशाली विष्फोट राजधानीभर सुनिएको र त्यो विष्फोट विमानस्थल जाने सडक नजिकै भएको बताएको छ।

सनाले भनेको छ, विमानस्थलको दक्षिण पश्चिममा रहेको सैन्यस्थलमा थुप्रै क्षेप्यास्त्रहरु प्रहार गरिएको थियो जसले गर्दा केही क्षति भएको छ।

सरकार समर्थक अल मायादीन टेलिभिजनले श्रोतहरु उल्लेख गर्दै इजरेल अधिनस्थ गोलन हाइट्समा उडेका जेटहरुले क्षेप्यास्त्र प्रहार गरेको समाचार प्रसारण गरेको थियो।

इजरेली सेनाले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ।