उत्तर कोरियाली संकटः वार्तामा जोड

  • 28 एप्रिल 2017
रेक्स टिलरसन तस्वीर कपीराइट Reuters

संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले कोरियाली प्रायःद्वीपबाट परमाणु अस्त्र हटाउनका लागि उत्तर कोरियासंग वार्ता गर्ने सम्भावना खुला रहेको बताएका छन्।

तर उनले अरु देशहरुसमक्ष उत्तर कोरियालाई कूटनीतिक रुपमा एक्ल्याउन आह्वान पनि गरे।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एउटा विशेष बैठकमा बोल्दै उनले भने, "हामी संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई उनीहरुले उत्तर कोरियाका बारेमा गरेका सबै प्रतिबद्धताहरु लागू गर्न आह्वान गर्दछौं।"

उत्तर कोरियाका परमाणु र क्षेप्यास्त्र परीक्षणका बारेमा तनाव बढेको समयमा त्यस्तो बैठक आयोजना गरिएको हो।

'द्वन्द्वको खतरा'

त्यसअघिका घटनाक्रममा, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले उत्तर कोरियासंगको संकट कुटनैतिक ढंगबाट हल गर्न चाहेको तर यो मुद्दामा ठूलो द्वन्द्व समेत हुन सक्ने बताएका थिए।

साथै टिलरसनले एउटा रेडियोसंग कुरा गर्दै, अमेरिकाले उत्तर कोरियामा सरकार ढाल्नका लागि होइन कि त्यहाँ रहेका परमाणु अस्त्र हटाउने उद्देश्यका साथ वार्ता गर्ने बताएका थिए।

अमेरिकाको न्याशनल पब्लीक रेडियोसंगको कुराकानीका क्रममा विदेशमन्त्री टिलरसनले अमेरिकाले उत्तर कोरियामा सरकार पतन गराउन खोजेको नभई कोरियाली प्राय:द्वीपलाई परमाणु अस्त्र मुक्त पार्न मात्र खोजेको बताए।

गाह्रो प्रयास

राष्ट्रपति ट्रम्पले उत्तर कोरियासंग उस्को परमाणु र क्षेप्यास्त्र कार्यक्रमहरु बारेको विवादमा आफूले कुटनीतिक परिणाम चाहेको तर त्यस्तो नतिजा हासिल हुन निकै गाह्रो भएको बताएका थिए।

"उत्तर कोरियासंग हाम्रो निकै ठूलो स्तरको द्न्द्व हुन सक्ने सम्भावना निश्चय पनि छ," उनको भनाई थियो।

राष्ट्रपति ट्रम्पले आफ्ना चिनीयां समकक्षी शी जीनपींगको प्रसंशा गर्दै उनले उत्तर कोरियामाथि दबाब बढाउन ठूलो प्रयास गरिरहेको पन‌ि बताएका थिए।

यसैबीच, उत्तर कोरियाले पनि ह्वाईट हाउस र अमेरिकी विमानवाहक पानी जहाजहरुमाथि हमला भएको जस्तो देखाउने गरी नक्कली रुपमा तयार पारिएका प्रोपागाण्डा चलचित्रहरु सार्वजनिक गरेको छ।

त्यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासंग वार्ता पुन आरम्भ गर्न आह्वान गरेका थिए।

मस्कोमा जापानी प्रधानमन्त्री शिन्जो आबेसंगको भेटपछि बोल्दै पुटिनले यो मुद्दामा सम्बद्ध सबैपक्षले 'झगडा चर्काउने' खाले शब्दावली प्रयोग नगर्न आग्रह पनि गरेका थिए।