सर्वदलीय बैठक: विपक्षी गठबन्धन अडानमै

  • 28 एप्रिल 2017
बैठक तस्वीर कपीराइट pm secretariat

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन विधेयकमा साथ दिन गरेको आग्रह विपक्षी गठबन्धनले अस्वीकार गरिदिएको छ।

संसद्‌मा रहेका पार्टीको सर्वदलीय बैठक गरेर प्रधानमन्त्रीले विपक्षी समक्ष समर्थनको प्रस्ताव गरेका थिए।

विधेयक पारित गराउन आवश्यक दुई तिहाई पुर्याउन विपक्षी गठबन्धनमा रहेका केही सांसदको साथ सत्तापक्षका निम्ति अनिवार्य देखिन्छ।

विधेयकमा संशोधन पेश गर्ने म्याद सकिनु अघिल्लो दिन प्रधानमन्त्रीले सामूहिक रुपमा दलहरुको मन बुझ्ने प्रयास गरेको देखिन्छ।

दृढ

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले भने, "विपक्षी सांसदले यथास्थितिमा विधेयकमा साथ दिन नसक्ने बताएका छन्। प्रधानमन्त्रीले संशोधन परिमार्जनको संकेत दिनुभएकाले विधेयकलाई सर्वस्वीकार्य बनाउने झिनो सम्भावना बाँकी छ।"

विपक्षीको अडानका माझ प्रधानमन्त्री प्रचण्ड विधेयकलाई प्रक्रियाबाट टुंग्याउन दृढ देखिएको बताइएको छ।

तर सत्ता गठबन्धनका एकजना नेता गणेश शाहले भन्छन्, "प्रधानमन्त्रीको कुरा सुन्दा उहाँ सके विधेयकमा सहमति जुटाउने तर सम्भव नभए प्रक्रियाबाट छिनोफानो गर्न दृढ रहेक जस्तो लाग्यो।"

मधेशी मोर्चा र संघीय गठबन्धनसँगको समझदारी अनुसार विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्न सत्तापक्ष तयार देखिन्छ।

चलखेल

अहिलेकै विधेयकमा असहमति जनाएको विपक्षीको निम्ति त्यो झन् मान्य हुनेमा चौतर्फी अविश्वास पाइन्छ।

विधेयकको पक्ष-विपक्षमा झिनो अन्तरको गणितीय खेलमा सांसद किनबेचको सम्भावनाबारे समेत चर्चा हुन थालेका छन्।

त्यसतर्फ संकेत गर्दै बैठकमा राखेको धारणाबारे नेता शाहले भने, "पहिलो कुरा विधेयकका सन्दर्भमा अराजनीतिक काम नहोस् र दोश्रो, विधेयक पारित भएन भने चुनाव हुने सम्भावना अन्त्य हुन्छ भन्ने कुरा राखेँ।"

संशोधन सफल र विफल तुल्याउन आवश्यक सांसद संख्या जुटाउने द्वीपक्षीय कसरतका माझ १६ दिनपछि हुने चुनावबारेको अन्योल अझै हटिसकेको देखिन्न।