उत्तर कोरियाद्वारा चीनको अपमानःट्रम्प

  • 29 एप्रिल 2017
प्रक्षेपण तस्वीर कपीराइट EPA

उत्तर कोरियाले आफ्ना मुख्य साझेदार मुलुक चीन र चिनियाँ राष्ट्रपति शी जिन पिङको अपमान गरिरहेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आरोप लगाएका छन्।

उत्तर कोरियाले एक महिनाभित्र तेस्रोपटक क्षेप्यास्त्र परीक्षण गरेपछि ट्रम्पको पछिल्लो प्रतिक्रिया सार्वजनिक भएको हो।

अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र परीक्षण विफल भएको बताएका छन्।

उनीहरुका अनुसार क्षेप्यास्त्र प्रक्षेपण गरिएको केही समयपछि विस्फोट भएको थियो।

खतरा

अमेरिकी विदेशमन्त्री रेक्स टिर्सनले शुक्रबार मात्रै प्योङयाङको क्षेप्यास्त्र र पारमाणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय समुदायले कुनै सहमति नगरेमा उत्पन्न हुने सम्भावित खतराबारे संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्लाई चेतावनी दिएका थिए।

चिनियाँ विदेशमन्त्री वाङ यीले उत्तर कोरियासँग नयाँ चरणको वार्ता थाल्नुपर्नेमा जोड दिएका थिए।

रुसी उपविदेशमन्त्रीले सैन्य हस्तक्षेपको विकल्प पूर्णरुपमा अस्वीकार्य हुने बताएका थिए।

ट्रम्पले ट्वीट गरेका छन्, "उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेर चीन र उसका अति सम्मानित राष्ट्रपतिको अपमान गर्यो। हुन त त्यो परीक्षण विफल भएको छ। नराम्रो।"

प्रयास

हालै चिनियाँ राष्ट्रपतिलाई अमेरिकामा स्वागत गरेका ट्रम्पले उत्तर कोरियाली मुद्दामा "ठूलो प्रयास" गरिरेको भन्दै उनको प्रशंसा गरेका थिए।

त्यसअघि ट्रम्पले चीनले नसघाए पनि उत्तर कोरियाली खतरासँग अमेरिका एक्ले जुध्ने बताएका थिए।

लगातारको क्षेप्यास्त्र परीक्षणसहितका उत्तर कोरियाली पारमाणविक महत्वकांक्षालाई लिएर कोरियाली प्रायद्वीपमा पछिल्लो समय तनाव चुलिएको छ।

दक्षिण कोरियाका अनुसार स्थानीय समय अनुसार शनिबार बिहान क्षेप्यास्त्र परीक्षण गरेको थियो।