ब्रेक्जिट वार्ता निर्देशिकामा सर्वसम्मति

  • 29 एप्रिल 2017
पत्र तस्वीर कपीराइट Reuters

युरोपेली संघ (इयु) का सदस्य राष्ट्रहरुले इयुबाट ब्रिटेनको बहिर्गमन भनिने ब्रेक्जिट वार्ताबारेको निर्देशिकालाई सर्वसम्मतिले पारित गरेका छन्।

युरोपली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले ब्रसल्स बैठकले ब्रेक्जिट वार्ताबारे दृढ र निष्पक्ष कार्यादेश अनुमोदन गरेको बताए।

ब्रिटेन अलग हुने प्रक्रियामा पर्याप्त प्रगति नभएसम्म भविष्यमा उसँगको कुनै प्रकारका व्यापार सम्बन्धहरुबारे वार्ता नगरिने बताइएको छ।

इयुले ब्रिटेनमा रहेका ३० लाख युरोपेली नागरिक र युरोपेली महादेशमा रहेका १० लाख ब्रिटिश नागरिकबारे सुनिश्चितता खोज्नुका साथै विद्यमान प्रतिबद्धताहरु पूरा गर्न ब्रिटेनले कति रकम तिर्नुपर्छ भन्ने विषयमा काम गर्नेछ।

ऐक्यबद्धता

सदस्य राष्ट्र र इयुका सबै संयन्त्रबीच उच्चस्तरको सहमतिको प्रशंसा गर्दै इयुका नेताहरुले जर्मन चान्सलर एंगेला मर्केलप्रति ऐक्यबद्धता जाहेर गरेका छन्।

यसअघि युरोपली परिषद्का अध्यक्ष टुस्कले बाँकी २७ सदस्य राष्ट्रहरु एकताबद्ध रहनुपर्ने बताएका थिए।

आगामी जुन ८ तारिखमा ब्रिटेनमा आमनिर्वाचन नहुञ्जेल लण्डन र इयुबीच औपचारिक वार्ता शुरु हुने छैन।

ब्रसल्स बैठकका लागि शनिबार बिहान त्यहाँ पुगेका टुस्कले भने, "हामी इयु-२७ का रुपमा एकताबद्ध रहनुपर्दछ। त्यसो भएमात्रै हामीले वार्ताहरु निष्कर्ष पुर्याउन सक्दछौँ जसको अर्थ हाम्रो एकता ब्रिटेनको हितमा पनि छ भन्ने हुन्छ।"

फाइदा

हालै इयुका २७ नेताहरुलाई लेखेको पत्रमा उनले ब्रिटेनसँगको भावी सम्बन्धबारेको वार्ताअघि "मानिस, पैसा र आयरल्याण्ड" बारे प्रगति हुनुपर्ने बताएका थिए।

ब्रिटेनले इयुसँगको भावी व्यापार सम्बन्धहरुबारेका वार्तामा ढिलाइ गर्न नचाहेको बताउँदै आएको छ।

यसैबीच जर्मन अर्थमन्त्रीले ब्रेक्जिटसम्बन्धी वार्ताहरु टुंगिएपछि ब्रिटेनले इयुका २७ सदस्य राष्ट्रहरुबाट फाइदा लिन नपाउने बताएका छन्।

उनले भनेका छन्, "निःशुल्क खाना खान पाइंदैन। ब्रिटिशहरुले यो कुरा थाहा पाइराख्नुपर्यो।"