टर्कीद्वारा अमेरिकासमक्ष सहकार्यको आग्रह

  • 29 एप्रिल 2017
एर्दोआन तस्वीर कपीराइट AFP

टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले संयुक्त राज्य अमेरिकालाई आफूसँग मिलेर सिरियास्थित इस्लामिक स्टेट समूहको मुख्य अखडा रक्का शहरमाथि आक्रमण गर्न आह्वान गरेका छन्।

टर्कीले विद्रोही सम्बन्धित ठानेको समूहलाई अमेरिकाले समर्थन गर्दै आएको कुराले दुई देशबीच तनाव बढेको सन्दर्भमा एर्दोआनले त्यसो भनेका हुन्।

राष्ट्रपति एर्दोआनले बताएका छन्, टर्की र अमेरिकी नेतृत्वको गठबन्धन मिलेर रक्कालाई "जिहादीहरुको चिहान" बनाउन सकिनेछ।

हाल त्यहाँ अमेरिकाको प्रमुख साझेदार वाइपीजी नामक स्थानीय कुर्द लडाकु समूह रहेको छ।

तनाव

तर टर्कीले त्यो साझेदारीको चर्को विरोध गर्दै आएको छ।

टर्कीले वाइपीजीलाई टर्कीमा विद्रोह गरिरहेका लडाकुसँग सम्बन्धित भएको ठान्दछ।

अमेरिकाले सिरियाली कुर्दहरुलाई समर्थन गरिरहेको र हतियार दिइरहेको कुराले अंकारा र वाशिंटनबीचको सम्बन्धमा तनाव उत्पन्न गरिरहेको छ।

ती सिरियाली कुर्दहरुलाई आफ्नो सिमानामा स्वशासित क्षेत्र स्थापना गर्न नदिनका लागि टर्कीले वाइपीजीमाथि र एउटा सिरियाली लडाकु विद्रोमाथि हवाई हमला गरेको छ।

प्राथमिकता

संयुक्त राज्य अमेरिकाले शुरुमा सिरियाली राष्ट्रपति बशर अल असदले अत्याचार गरेको भन्दै सिरियास्थित विद्रोही समूहहरुलाई असदविरुद्ध लड्न सहयोग गरेको थियो।

तर विगत दुई वर्षमा अमेरिकाका आक्रमण इस्लामिक स्टेट समूहविरुद्ध केन्द्रित गरिएका छन्।

र केही दिनअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले असदलाई सत्ताच्युत गर्नु आफ्नो प्राथमिकता नरहेको पनि बताएका थिए।