सुष्मा सिंखडासंगको कुराकानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सुष्मा सिंखडासंगको कुराकानी

  • 2 मे 2017

नेपालमा आधुनिक मूर्तिकलाको क्षेत्रमा महिलाको संख्या नगण्य रहेको समयदेखि ८० वर्षीया सुष्मा सिंखडा त्यो क्षेत्रमा सकृय छिन्।

सानैदेखि नै सबै कुरा सिक्ने रुची लाग्ने गरेको उनी सम्झन्छिन्।

अरु केटाकेटीसंग खेल्नुभन्दा उनी रोटी पकाउने देखि लिएर धागो बुन्ने कामहरु सिक्दै हुन्थिन्।

तर कला क्षेत्रमा उनको यात्रा भने आमाको मृत्युपछि शुरु भएको रहेछ।

विविध कला

"आमा बितेपछि म एकदम चिन्ता गर्ने भएपछि मलाई भुलाउन खोज्यो भाइले र सितार सिक्न लग्यो," उनी भन्छिन्।

तर सितार सिक्दा सिक्दै हात दुःखेपछि उनी चित्रकला सिक्न गएकी थिइन्, तत्कालीन प्रसिद्ध कलाकार तेजबहादुर चित्रकारसंग।

विस्तारै चित्रमा पारंगत हुँदै जान थालेपछि उनी ललितकला संस्था जान थालेकी थिइन्।

एउटा बरको सुकेको हाँगा जस्ताको तस्तै चित्र बनाएपछि उनी त्यही चित्रको बलमा ललितकला संस्थाकी सदस्य बनिन्।

"म त्यो कक्ष खुला हुँदा सधैं नाफामा हेर्न जान्थें, प्रदर्शनीमा राखिएका कलाकृति। मलाई त्यस्तो श्रद्धा लाग्थ्यो," आफ्नो कलाप्रतिको लगाव उनी सम्झिन्छिन्।

फोटोग्राफी

सितार सिक्न छोडेर गएका उनका भाइ फर्केर आउँदा दिदीले चित्र बनाएको देखेर छक्क परेछन्।

अब के सिक्ने त दिदी? भनेर भाइले सोध्दा उनले भनिन्: अब फोटोग्राफी सिक्ने!

"केटीहरुलाई फोटो खिच्ने ठाउँ छैन काठमाण्डुमा। त्यसैले फोटोग्राफी सिकेर लेडिज फोटो स्टुडियो खोल्न मन छ।"

परिवारले पनि उनको इच्छाको समर्थन गरेपछि उनी भाइसंग वरोदा पुगिन्, फोटोग्राफी सिक्न।

फोटोग्राफीको एक वर्षे पाठ्यक्रम सकेर उनी भ्रमणका क्रममा अजन्ता र एलोराका गुफामा पुगेकी थिइन्, र त्यहाँबाट नै उनले जीवनको नयाँ मार्ग पाइन्।

मूर्तिकलाको प्रेरणा

"ती मूर्ति देखेपछि त यस्तो भयो कि मलाई! ओहो! भगवानले त बनाएका होइनन्!

त्यो त मान्छेले बनाएको हो, त्यस्तो त्यस्तो गुफामा त्यस्तो त्यस्तो मूर्ति!

हामी पनि त मान्छे हो नि भनेर म सिक्छु भन्ने मन आयो," त्यो क्षणलाई उनी यसरी सम्झिन्छिन्।

"भित्र पहरामा अँध्यारो छ, घाम लागेपछि बाहिरबाट जस्तापाता टल्काएर देखाइदिएपछि देखिन्थेः भित्तामा बनाइएका महाभारत र रामायणका कथा।

फोटोग्राफी भने पनि जे भने पनि नक्कल हो, तर यो त आफ्नै श्रृजना हो," मूर्तीकलामा लाग्ने प्रेरणा उनले त्यसरी पाएकी रहिछन्।

प्रवेश

तर मूर्तिकलाको कक्षामा प्रवेश पाउन उनलाई सजिलो भने थिएन। किनभने शारीरिक परिश्रम आवश्यक पर्ने त्यो विधा सिक्ने कोही महिला थिएनन्।

"सजिलैसंग कहाँ पाउँछु? नो चान्स सुष्मा भनेर शिक्षकहरुले भनिदिइहाले," उनी सम्झन्छिन्। तर विभाग प्रमुख शंखो चौधरीसंग कुरा गर्न भनिएपछि उनले चौधरीलाई पर्खेर बसिन्।

शुरुमा त चौधरीले पनि सकारात्मक प्रतिकृया दिएका थिएनन्, र सिंखडालाई त्यहीं एउटा मूर्ती बनाएर देखाउन अनुरोध गरे।

"पटासी लगाएकी, पटुका बेरेकी, काखीमा पानी बोकेकी, एउटी ज्यापू महिलाको आकृति बनाएकी थिएँ, त्यो देखेर शिक्षकले मलाई कक्षामा प्रवेश दिए," उनी बताउँछिन्।

कल्पनाबाट श्रृजना

त्यो आकृति उनले कल्पना गरेर बनाएकी थिइन्, अगाडि कुनै नमुना नराखी।

र उनले पछिसम्म पनि त्यसै गरी नै मूर्ति बनाउने हुनाले कला विज्ञले उनलाई प्रतिभाशाली मूर्तिकार मानेका छन्।

काठ, ढुंगा, धातु, सिमेण्ट र प्लास्टर लगायतका विभिन्न माध्यमसंग खेल्दै मूर्ति बनाउने काम पनि त्यति सजिलो नभएको उनको अनुभव छ।

हालका पुस्ताका मूर्तिकारले प्रयोग गर्ने जस्ता औजार र उपकरण उनीसंग थिएनन्, र सबै किसिमका पत्थरहरु आफैं तोड्ने गर्थिन् उनी।

"मान्छे लगाउन, छुन पाईंदैन," उनी भन्छिन्।

"जीवनमा म ३५ किलो भन्दा बढी कहिल्यै थिइनँ, तर पनि आफूलाई मन लागेको त्यो विधाबाट भने हिम्मत हारिन।"

लगाव

छुट्टीको दिन पनि कलेजमा गएर काम गर्ने उनको लगन देखेर उनका शिक्षकले उनलाई काम गर्न छुट्टै स्टुडियो बनाइदिएका थिए।

"पहिलो वर्षका विद्यार्थीहरु शिक्षकहरु गएपछि माटोले हानाहान गर्दै चल्दै बस्थे। मलाई त्यस्तो मन पर्दैन थियो।

अनि म एक्लै बसेर काम गर्ने भएको हुनाले शिक्षकहरुले पनि मलाई छुट्टै स्टुडियो बारिदिएका थिए।

अनि त मलाई आनन्द भइहाल्यो," उनी भन्छिन्।

नग्न शरीरको अध्ययन गरेर मूर्ति बनाउनु पर्दा लाज मानेर केही दिन त उनी कक्षामा नै गइनन्।

तर पछि भाइले चिकित्सकहरुले पनि शरीरको अध्ययन गर्नुपर्छ भनेर उनलाई सम्झाएपछि फेरि जान थालिन्। त्यसपछि भने केही अप्ठ्यारो नभएको उनको अनुभव छ।

आनन्ददायी

काठमाण्डु फर्केपछि उनले ललितकला संस्था लगायतका थुप्रै मूर्तिकला प्रतियोगितामा पुरस्कार जितेकी छिन्।

विज्ञहरुले सरल, सौम्य, आनन्ददायी र आधुनिक नेपाली मूर्तिकलाका कोसेढुंगा भनेका उनका त्यस्ता कलाकृति काठमाण्डुस्थित बाल मन्दिरमा बाहेक अन्य सार्वजनिक स्थलमा देख्न भने मुश्किल छ।

व्यावसायिक कलाकारिता नगरेकी सिंखडाका कलाकृति केही निजी संकलकसंग छरिएर रहेका छन्।

तत्कालिन राजा वीरेन्द्रको गद्दी आरोहणका समयमा उनले घुँडा टेकेकी आमाले बच्चालाई अंगालो हालेको एउटा मूर्ति उपहार दिएकी रहिछन्।

उदास बालिकाको वरिपरि चिहाइरहेका तीन जना बालक, कपालबाट पानी निथारिरहेकी युवती, सुतिरहेका र पढिरहेका महिला आकृतिहरु, मानिसको मात्रै होइन गाइ, हरिण लगायत थुप्रै किसिमका आमा र बच्चाका आकृतिहरु, यस्ता थुप्रै कृतिका उनीसंग अब तस्वीर मात्र बाँकी छन्।

मातृत्व

सानै उमेरमा आमाको वियोगका कारण आमा र बच्चाको आकृति धेरै बनाएको उनी बताउँछिन्।

"आमा र बच्चाको माया प्रेम भनेको कस्तो हुँदोरहेछ भनेर झल्काउन मन लाग्थ्यो मलाई।"

त्यसैगरी रातदिन गरेर बनाएको एउटा दुःखी भाव देखाउने महिलाको आकृति गुमेपछि त्यसलाई उनले अहिलेसम्म बिर्सन सकेकी छैनन्।

"स्टुडियो थिएन, रातभर बैठक कोठामा बसेर मूर्ति बनाउँथे," उनी भन्छिन्।

"रातभर चीसो माटोमा खेल्दा मेरो बुवाले आएर हेर्नुहुन्थ्यो। खुब चिन्ता गर्नुहुन्थ्यो।

मेरो बुवाको हात प(यो त्यसमा, त्यसैले मैले त्यो कहिल्यै बेच्दिन भनेकी थिएँ।

तर किन्ने मान्छे आएपछि एउटा बेचौंला अनि आफ्नो लागि त्यस्तै अर्को बनाउँला भन्ने लाग्यो।

तर ढलान गर्न लगेर छाड्दा त्यो मूर्ति हरायो। मैले त्यो मूर्ति कहिल्यै पाइनँ, र फेरि त्यस्तो मूर्ति बनाउन पनि सकिनँ।"

महिलाको विम्ब

यथार्थपरक यी मूर्तिबाहेक सिंखडाका केही अमूर्त कलाकृति पनि छन्, र ती मध्ये केही उनका निम्ति स्मरणीय बनेका छन्।

'फूल जस्तो केटीको जीवन' भन्ने नाम दिइएको एउटा मूर्ति उनी सम्झिन्छिन्।

एउटा अमूर्त आकृतिमा एउटा सानो पाइप जोडिएको छ भित्रबाट, र त्यसबाट पानी विस्तारै बगेर जान्छ।

"त्यो केटीको आँसु हो," उनी भन्छिन्। "तर फेरि मान्छेले देख्छ भनेर त्यो आँसु लुकाउन प-यो।

त्यस्तो बेलामा माथि थोरै पानी बसिराख्छ, आँखामा पानी टिलपिल बसे जसरी।"

"लडकीको जीवन भन्ने कस्तो हुन्छ भन्ने कुरा चिनिंदैन बिहा नगरिकन," उनी भन्छिन्। "र त्यही दर्शाउन खोजेको हो त्यो मूर्तिबाट।"

कलामै समर्पित

अविवाहित सिंखडा जीवनभर नै कामसंग नै नजीक रहिन्।

त्यो मूर्ति आफ्नो कलेजमा आएका अतिथिले मन पराएर उनलाई समारोहमा संगै खाना खान बोलाएको मीठो सम्झना अँझै उनीसंग छ।

"मूर्ति बनाउन लाग्दा सबै दुख, सुख सब थोक बिर्सिन्छु। मलाई त्यस्तो आनन्द आउँछ।

खान पनि मन लाग्दैन, भोक प्यास पनि लाग्दैन। त्यो मूर्ति नसकुञ्जेल निद्रै नलाग्ने।

मेरो साथी नै त्यही थियो जीवनमा," उनी भन्छिन्।

कलामा बिताएको जीवनले गर्दा बाथ भएको ठान्छिन् उनी, सधैं चीसो माटो र सिमेण्ट खेलेकाले गर्दा।

र कलाकार बन्न चाहने मानिसले त्यो कुरा ख्याल गर्नुपर्ने उनी सल्लाह दिन्छिन्।

"दुःख गर्थें, तर आनन्द पनि त्यसमै लाग्थ्यो। किनभने कलाकार हुन मन छ भने हरेक कुरा त्याग्नु पर्छ।

नाम कमाउन मन छ भने जीवन त्यसमै बिताउन पनि तयार हुनुपर्छ," उनको सु्झाव छ।