ट्रम्पको जलवायु नीतिविरुद्ध प्रदर्शन

  • 30 एप्रिल 2017
अमेरिका तस्वीर कपीराइट Reuters

अमेरिकामा हजारौँ मानिसहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पको जलवायु परिवर्तन सम्बन्धी नीतिहरुको विरोधमा प्रदर्शन गरिरहेका छन्।

ती र्यालीहरुका युवादेखि वृद्धसम्म र बौद्ध भिक्षुदेखि अमेरिकाका रैथाने समूहहरु पनि सहभागी भएका छन्।

'जनताको जलवायु र्याली' नाम दिइएको उक्त प्रदर्शन सांकेतिक रुपमा राष्ट्रपतिका रुपमा ट्रम्पको १०० औँ दिन पारेर आयोजना गरिएको हो।

वासिङटनमा प्रदर्शनकारीहरुले ह्वाइट हाउसलाई घेर्ने योजना बनाएका छन्।

विरोध

तर त्यहाँ राष्ट्रपति ट्रम्प छैनन् बरु आफ्नो १०० दिनका अवसरमा समर्थकहरुलाई सम्बोधन गर्न पेन्सेलभेनिया पुगेका छन्।

आयोजकहरुलाई उदृत गर्दै रोयर्टस समाचार संस्थाले वासिङटन डिसीमा मात्रै झण्डै १५ हजार मानिसहरुले र्यालीमा भाग लिइरहेको जनाएको छ।

तस्वीर कपीराइट Reuters

प्रदर्शनकारीहरुले राष्ट्रपति ओबामाको वातावरण संरक्षणका नीतिहरु उल्टाइएकोमा विरोध गरिरहेका छन्।

अभिनेता लिओनार्दो डिक्याप्रियो र पूर्व उपरराष्ट्रपति एल गोर सहितका चर्चित व्यक्तिहरु पनि ती र्यालीहरुमा उपस्थित हुने ठानिएको छ।

तस्वीर कपीराइट Getty

राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तनलाई छल भनेका छन् र यसअघिका आफ्ना पूर्ववर्तीका कयौँ वातावरण संरक्षणसँग सम्बन्धित नियमहरु उल्टाएका छन्।

उनले जलवायु सम्बन्धी प्यारिस सम्झौताबाट पनि अलग हुने चेतावनी दिने गरेका छन्।

उनले आफ्नो पहिलो एक सय दिनमा पूरा गर्ने कयौँ महत्वकांक्षी घोषणाहरु चुनावी अभियानमा व्यक्त गरेका थिए तर अहिले सय दिनको समयसिमालाई कम महत्व दिइरहेका छन्।

पेन्सेलभेनियामा समर्थकहरुलाई सम्बोधन गर्न पुगेका ट्रम्पले अमेरिकी राष्ट्रपतिहरुले विगतमा त्यहाँ सहभागिता जनाउने गरेका सञ्चारकर्मीसँगको रात्रीभोजमा भने उपस्थित नहुने निर्णय गरेका छन्।