सयदिनको र्यालीमा सञ्चारमाध्यमको आलोचना

  • 30 एप्रिल 2017
ट्रम्प तस्वीर कपीराइट Reuters

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले चुनावी वाचा पूरा गरिरहेको तर 'झुट्टा सञ्चारमाध्यम'ले मानिसहरुलाई झुक्क्याइरहेको बताएका छन्।

पेन्सेलभेनियामा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै उनले व्हाइट हाउसका संवाददाताहरुले आयोजना गरेको रात्रीभोजबाट झण्डै दुई सय किलोमिटर टाढा आउन पाउँदा आफूलाई खुशी लागेको बताए।

सञ्चारमाध्यमले आफ्नो एक सय दिन विफल भएको बताएपनि अमेरिकामा थप औद्योगिक रोजगारी सिर्जना गर्न आफूले प्रत्येक दिन काम गरिरहेको उनले बताए।

यसअघि ट्रम्पको कार्यकालको एक सय दिन पारेर उनको जलवायु परिवर्तन सम्बन्धी नीतिको विरोधमा विभिन्न शहरहरुमा आयोजना भएका प्रदर्शनमा दशौँ हजारले सहभागिता जनाएका थिए।

अनुपस्थित

तस्वीर कपीराइट Reuters

समर्थकहरुलाई पेन्सेलभेनियामा सम्बोधन गर्दै उनले आफूले एकपछि अर्को वाचा पूरा गरिरहेको तर 'झुट्टा समाचार' र 'सन्दर्भ नबुझेका' पत्रकारले आलोचना गरिरहेको बताए।

ट्रम्पको जलवायु नीतिविरुद्ध प्रदर्शन

उत्तर कोरियाद्वारा चीनको अपमानःट्रम्प

साढे तीन दशक अघि राष्ट्रपति रोनाल्ड रेगन अनुपस्थित भएयता ह्वाइट हाउसका संवाददाताहरुले आयोजना गरेको रात्रीभोजमा सहभागिता नजनाउने पहिलो राष्ट्रपति ट्रम्प भएका छन्।

आफ्नो हत्याप्रयासका क्रममा लागेको गोलीको चोटको उपचारका क्रममा आराम गरिरहेको भन्दै सन् १९८१ मा राष्ट्रपति रेगन उक्त रात्रिभोजमा अनुपस्थित भएका थिए।

ह्यारिसवर्गमा बोल्दै उनले उक्त कार्यक्रममा नगएकोमा आफूलाई एकदमै खुशी लागेको बताउँदै आफ्नो सय दिनको कार्यकालयबारेका समाचारका लागि सञ्चारमाध्यमहरुलाई असफल ठहर्याइनुपर्ने बताए।

उनले ह्वाइट हाउसका संवाददाताहरुको रात्रिभोजमा हलिउड अभिनेता तथा वासिङटनका सञ्चारमाध्यमहरुले एक अर्कालाई सहानुभूति दिइरहेको उल्लेख गर्दै त्यो कार्यक्रम एकदमै पट्यारलाग्दो हुने टिप्पणी गरे।

उपलब्धि

तस्वीर कपीराइट Reuters

राष्ट्रपति ट्रम्पले आफ्नो एक सय दिनको कार्यकाल एकदमै उत्साहवर्द्धक र उत्पादनशील भएको बताए।

खानीमा निर्भर अर्थतन्त्र रहेको पेन्सेलभेनियाबाट प्राप्त मतले ट्रम्पलाई राष्ट्रपति निर्वाचित हुन सघाएको थियो।

प्रत्येक दिन काम गरिरहेको भन्दै उनले रोजगारीको चोरी रोकेर अमेरिकामा नै कामहरुको अवसर सिर्जना गरिरहेको, उर्जा अन्वेषणमा नियमहरु सुधार गरेको, कोइलाविरुद्धको लडाइँ अन्त्य गरेको र अमेरिकालाई हानी पुग्ने अन्तर्राष्ट्रिय सम्झौताबाट पछि हटेकोलाई आफ्ना सफलताका रुपमा प्रस्तुत गरे।

राष्ट्रपति ट्रम्पले आफ्ना पूर्ववर्ती बराक ओबामाले निम्त्याएका समस्याहरु आफूले समाधान गरिरहेको भन्दै उनले अझै धेरै लडाइँहरु हुने र प्रत्येकमा आफू विजयी हुने टिप्पणी गरे।

जलवायु परिवर्तनबारे उनले उनकै शब्दमा आगामी दुई हप्तामा एउटा ठूलो निर्णय लिइने जानकारी दिए।

यसअघि उनले जलवायु परिवर्तनलाई छल भन्दै त्यससम्बन्धी प्यारिस सम्झौताबाट अमेरिका अलग हुने चेतावनी दिएका थिए।