भ्रममा नपर्नुस्, चुनाव हुन्छ: प्रधानमन्त्री

  • 30 एप्रिल 2017
शंका तस्वीर कपीराइट Prachanda's website

प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको पहिलो चरणको निर्वाचन वैशाख ३१ गते हुने कुरामा भ्रममा नपर्न आग्रह गरेका छन्।

संसद् बैठक २१ गतेसम्म स्थगन गरिएपछि संसद् भवनबाट निस्किँदा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले त्यस्तो धारणा व्यक्त गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले भने, "वैशाख ३१ गते निर्वाचन हुन्छ। त्यसबारे कुनै भ्रममा पार्न र पर्न जरुरी छैन।"

संशोधन विधेयकबारे आइतबार छलफल हुने भनिए पनि संसद् बैठक चार दिनसम्मका निम्ति स्थगित भएको छ।

उत्सव

विधेयकको पक्षमा दुई तिहाई नपुग्ने अवस्था आएपछि सरकारले संसद् बैठक सारेको समाचार प्रकाशमा आएका छन्।

तर प्रधानमन्त्री प्रचण्डले भने, "उम्मेदवारी दर्ताको अवसरलाई उत्सव बनाउन र त्यसमा सबै माननीय सांसदको सक्रिय सहभागिताको वातावरण बनोस् भनेर संसद् बैठक सारिएको हो। संशोधनबारे २१ गते छलफल हुन्छ।"

सत्तापक्षले मधेशी मोर्चा र संघीय गठबन्धनलाई आइतबारसम्ममा संशोधन विधेयक पारित गराउने आश्वासन दिएको बताइएको छ।

सम्भावना

संशोधन बिना चुनावमा सहभागी नहुने अडानमा रहेको मोर्चा र गठबन्धनका निम्ति ३, ४ र ६ नम्बर प्रदेशमा हुने पहिलो चरणको चुनावमा उम्मेदवारी दिने सम्भावना अहिलेलाई टरेको देखिन्छ।

यसबारे उनीहरुको प्रतिक्रिया सार्वजनिक भएको छैन।

तर प्रधानमन्त्री प्रचण्डले भने, "अहिले जसरी घटनाक्रमको विकास भएको छ। सबैभन्दा पहिले मनोनय दर्ता गरेर पहिलो चरणको निर्वाचन सम्पन्न गर्ने कुरालाई प्राथमिकता दिने परिस्थिति बन्यो। मधेशी मोर्चा पनि यसमा समझदारीमा आउने स्थिति बनेको छ।"

उनले मोर्चा चुनावमा आउने विश्वास पनि दोहोर्याए।