महाभियोगमाथि छलफल मिति २१ गते तोकिने

  • 1 मे 2017
सुशीला कार्की

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्तावबारे छलफलको मिति आगामी बैशाख २१ गतेको संसद बैठकमा तय गरिने सभामुखले बताएकी छन्।

महाभियोगको सबै प्रक्रिया पूरा हुन लाग्ने समय भने अनिश्चित देखिन्छ।

संसदले सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रद्वारा दर्ता महाभियोगबारे आइतबार सम्बद्ध सबैलाई जानकारी गराइसकिएको बताइएको छ।

व्यवस्था

संसदको कार्यसम्पादन नियमावलीका अनुसार दर्ता भएको सात दिनभित्र महाभियोगको प्रस्तावबारे छलफल चलाउनुपर्ने व्यवस्था छ।

संसद बैठक निरन्तर जारी रहेकाले छलफल गर्ने दिन र समयबारे आगामी बिहीवार संसदमा निर्णय गरिने छ।

तर त्यसको छिनोफानो गर्न कति समयमा लाग्छ भन्ने कुरा छलफल प्रारम्भ भएपछि मात्र प्रष्ट हुने सभामुख ओनसरी घर्तीले बताइन्, "कति माननीय सदस्यहरुले छलफलमा सहभागिता जनाउनुहुन्छ त्यसैको आधारमा यो विषय निर्भर हुन्छ। यति नै समय लाग्छ भनेर हामीले भन्न सक्दैनौं। तर सदस्यहरु थोरैले मात्रै बोल्नुभयो भने चाँडै पनि हुन सक्छ।"

संवैधानिक निकायका प्रमुख वा पदाधिकारीको विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्ने आधार र कारण विद्यमान भए/नभएको छानविन गरि सिफारिस गर्न संसदमा महाभियोग सिफारिस समितिको प्रावधान छ।

समितिले एक महिनाभित्र आफ्नो प्रतिवेदन बुझाएपछि संसदलाई चित्त नबुझे पुन: एक हप्ताको समय दिन सक्छ।

निर्धारण

संसदमा छलफल प्रारम्भ भएपछि महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइने सभामुख घर्तीले जानकारी दिंदै भनिन्, "यो प्रकृया अघि बढेपछि सदनमा छलफल हुन्छ। छलफल सकिएपछि समितिमा पठाउँछौ। समितिले एक महिनाभित्र आफ्नो प्रतिवेदन दिनुपर्छ। सदनलाई प्रतिवेदन ठिक छैन भन्ने लाग्यो भने एक हप्ताका लागि फेरि समितिमा पठाउन सक्ने प्रावधान छ।"

छलफलमा भाग लिने सदस्य संख्याले पनि त्यसको टुंगो लाग्ने समय निर्धारण गर्ने बताइन्छ।

संसद सचिवालयका अनुसार, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २४९ जना सांसदले कार्यक्षमतामा प्रश्न उठाइएका प्रसंगहरु उल्लेख गर्दै कार्कीविरुद्ध महाभियोग दर्ता गराएका छन्।

तर संविधान संशोधनमा जस्तै विपक्षी गठबन्धनमा रहेका दलको साथ बिना महाभियोग पारित गराउन दुई तिहाई बहुमत पुग्ने देखिन्न।

महाभियोगलाई लिएर सत्ताधारी राप्रपाले चरम असन्तुष्टि प्रकट गरेको छ भने कांग्रेस र माओवादी केन्द्रभित्रै विमतिका स्वर सुनिएका छन्।