‘महाभियोगले चुनावलाई असर नपार्ने’

  • 1 मे 2017
दाहाल ओली तस्वीर कपीराइट Prachanda's website

प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावले आसन्न स्थानीय चुनावलाई कुनै असर नपार्ने बताएका छन्।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध आइतबार संसद्‍मा अचानक महाभियोग प्रस्ताव दर्ता गराइएपछि तोकिएको मितिमा चुनाव हुने वा नहुनेबारे थप अन्योल बढेका बेला प्रधानमन्त्रीले त्यस्तो बताएका हुन्।

मनोनयन दर्ता गराएको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको कार्यकक्षमा पछिल्लो विकसित घटनाक्रम र चुनावबारे छलफल गरेका छन्।

प्रधानमन्त्रीको वेबसाइटमा जनाइए अनुसार संविधान संशोधन विद्येयक, संसद्‍मा दर्ता भएको महाअभियोग प्रस्ताव, स्थानीय तहको निर्वाचन र बजेटका विषयमा सहमतिका साथ अघि बढ्न ओलीलाई आग्रह गरेका थिए।

मनोनयन

प्रधानमन्त्रीले वैशाख ३१ गतेको निर्वाचन कुनै हालतमा नरोकिने बताउँदै राजनीतिक दलहरु मिलेर निर्वाचनलाई उत्सवका रुपमा सम्पन्न गर्नुपर्ने बताएका थिए।

छलफलपछि उनले निर्धारित कार्यतालिका अनुसारै मंगलबार स्थानीय तहको चुनावको लागि मनोनयन दर्ता हुने बताए।

सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, "नियम कानुन र प्रक्रिया अनुसार नै सबैकुरा अगाडि बढ्छ। निर्वाचन सम्पन्न गर्ने वातावरण बनाएरै जानुपर्छ भन्ने बारेमा प्रमुख प्रतिपक्षी दलका नेतासँग त्यही रुपमा कुरा भएको छ। मलाई लाग्छ समझदारीबाटै अन्ततः समस्या समाधानतर्फ जान्छ। निर्वाचन चाहिँ वैशाल ३१ गते हुन्छ। मंगलबार मनोनयन दर्ता हुन्छ।"

प्रधानमन्त्री प्रचण्डले सोमबार बिहानै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गरेका छन्।

राष्ट्रपतिसँगको छलफलमा पनि प्रधानमन्त्रीले पछिल्लो घटनाक्रमले चुनावी कार्यक्रमलाई कुनै असर नपार्ने बताएका थिए।