अमेरिकी जहाजको रक्षा गर्दै जापानी युद्धपोत

  • 1 मे 2017
इजुमो तस्वीर कपीराइट Science Photo Library

पश्चिमी प्रशान्त महासागरस्थित जापानको जल क्षेत्र भएर गइरहेको अमेरिकी नौसेनाको आपूर्ति जहाजलाई सुरक्षा प्रदान गर्न जापानले उसको सबैभन्दा ठूलो युद्धपोत पठाएको छ।

अमेरिकी नौसेनाको जहाजहरुको समूहलाई सहयोग गरिरहेको त्यो आपूर्ति जहाजलाई इजुमो नामक सो विमानवाहक जहाजले सुरक्षा दिइरहेको छ।

दोस्रो विश्वयुद्धपछि विदेशी सैन्यपोतको सुरक्षाका लागि जापानले उसको युद्धपोत समुद्रमा पठाएको यो पहिलोपटक हो।

शान्तिवादी संविधानअन्तर्गत जापानी सेनाले उसको सीमाभित्रका द्वीपको मात्र रक्षा गर्ने अनुमति पाएको छ।

सम्भव

गत वर्षदेखि कार्यान्वयनमा आएको नयाँ सुरक्षा कानुनको आधारमा त्यसरी युद्धपोत खटाउन सम्भव भएको हो।

टोक्योस्थित बीबीसी संवाददाता रुपर्ट विङफिल्ड हेजका अनुसार इजुमो जापानी जलसेनाको गौरव हो।

यो जापानको सबैभन्दा ठूलो पानी जहाज पनि हो।

जापानी सञ्चामाध्यमहरुका अनुसार २४९ मिटर लामो इजुमोले एकपटकमा ९ वटासम्म हेलिकोप्टर बोक्न सक्छ।

उत्तर कोरियाले अमेरिकी पनडुब्बी डुबाइदिने धम्की दिएपछि उक्त क्षेत्रमा तनाव बढेको छ।

हालै उत्तर कोरियाले सोही क्षेत्रमा गरेको क्षेप्यास्त्र परीक्षण असफल भएको थियो।