छवि नरम देखाउने हमासको प्रयास

  • 2 मे 2017
हमास तस्वीर कपीराइट AFP

प्यालेस्टाइनको विद्रोही समूह हमासले आफ्नो स्थापनाकालदेखिको दस्तावेजमा पहिलो पटक परिवर्तन गर्दै आफ्नो छवि नरम देखाउने प्रयास गरेको छ।

नयाँ दस्तावेजमा हमासले सन् १९६७ अघिको सिमानालाई आधार मानेर अन्तरिम प्यालेस्टाइनी राज्य स्वीकार गर्न इच्छुक रहेको जनाइएको छ।

उक्त दस्तावेजमा अस्तित्वमा रहने इजरेलको अधिकार भने स्वीकार गरिएको छैन।

हमासका अधिकारीहरुले उक्त कदमलाई आफ्नो अडानमा व्यक्त नरमपन भनेका छन् तर इजरेलले त्यो विश्वलाई झुक्क्याउने प्रयास भएको जनाएको छ।

दस्तावेज

नयाँ हमास दस्तावेजमा वर्षौको छलफलपछि सहमति जुटेको ठानिन्छ।

तस्वीर कपीराइट EPA

यसले उक्त समूहले दिने गरेको सन्देशमा परिवर्तन आएको तर एकदमै ठूलो हेरफेर नभएको संकेत गर्छ।

अहिलेको भाषा अलि तौलिएर राखिएको छ जसमा हमासको द्वन्द्व यहुदीहरुसँग नभई इजरेलसँग भएकोमा जोड दिइएको छ।

यसअघिको दस्तावेजमा यहुदी विरोधी धारणा राखिएको थियो।

उक्त समूहले अन्तरिम दुई राज्य समाधान आफूलाई स्वीकार्य हुने पनि भनेको छ जून एकखालको सम्झौता नै हो।

तर त्यो अन्तिम समाधान नहुने भन्दै उसले नदी देखि समुन्द्रसम्मको पूरै प्यालेस्टाइनी भूभागलाई स्वतन्त्रता दिइनुपर्ने उल्लेख गरेको छ।

प्रपञ्च

अलि व्यावहारिक जस्तो देखिने पछिल्लो दृष्टिकोण गाजामा एक दशकदेखि नियन्त्रण कायम राखेको हमासले नयाँ आर्थिक र राजनीतिक चुनौतिहरु वेहोर्न थालेपछि ल्याइएको हो।

यसै हप्ता प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भट्दै छन्।

स्पष्ट रुपमा भन्दा यदी शान्ति प्रकृयाले फेरी गति लिए उग्रवादी संगठन भएकै आधारमा आफूलाई नपन्छाइयोस भन्ने हमासले चाहेको देखिन्छ।

तर इजरेल सरकारका एक जना प्रवक्ताले नयाँ दस्तावेजलाई खारेज गर्दै त्यो विश्वलाई झुक्क्याउने प्रपञ्च भएको टिप्पणी गरेका छन्।

प्यालेस्टाइनमा उसको प्रतिद्वन्द्वी समूह रहेको फताहले पनि हमासको आलोचना गरेको छ।

उसले भनेको छ, हमास अब फताहकै नीतिमा आएको छ त्यही भएर उसले ३० वर्षसम्म आफ्नो संगठनलाई देशद्रोही भनी आरोप लगाएकोमा माफी माग्नुपर्छ।