उम्मेदवारी मनोनयन दर्ता जारीः आयोग

  • 2 मे 2017
दर्ता

वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ।

तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहका लागि मनोनयन भइरहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताएका छन्।

आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारले मनोनयन दर्ता गराइरहेका छन्।

पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा हुने निर्वाचनमा तीनवटै प्रदेशमा गरी चारवटा महानगरपालिका, एक उपमहानगर, ९२ वटा नगरपालिकाका मेयर, उपमेयर तथा १८६ वटा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मनोनयन दर्ता हुँदैछ।

मतदाता

यसैगरी महानगरका १२३, उपमहानगरका १९, नगरपालिकाका १०९१ र गाउँपालिकाका १३६५ गरी जम्मा २५९८ वडाध्यक्षका लागि मनोनयन भइरहेको आयोगले जनाएको छ।

अन्ततः सरकार छाड्ने राप्रपाको निर्णय

कुल २,५९८ वडाका निम्ति चार सदस्यका दरले १०,३९२ वडा सदस्य पदका लागि मनोनयन हुनेछ।

२५९८ वडा सदस्यमा महिला, २५९८ दलित महिला गरी ५१९६ वडा सदस्य पदका लागि महिलाको उम्मेदवारी हुनेछ।

प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाको २८३ स्थानीय तहका लागि हुने निर्वाचनमा कुल ४९ लाख ५६ हजार ९२५ मतदाता रहेको आयोगले बताएको छ।

प्रतिनिधित्व

आयोगका अनुसार ६,६४२ मतदान केन्द्रमा मतदान हुनेछ।

वडा तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

महिला, दलित, अल्पङ्ख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारले उम्मेदवारी मनोनयनका लागि आवश्यक पर्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था रहेको छ।

उम्मेदवारी दर्ताका लागि मंगलबार बिहान १० देखि अपरान्ह ५ बजेसम्मको समय तय गरिएको आयोगले बताएको छ।