ल पेनले भाषण नक्कल गरेको आरोप

  • 2 मे 2017
भाषण तस्वीर कपीराइट Reuters

फ्रान्सको राष्ट्रपति पदकी अति दक्षिणपन्थी उम्मेदवार मारिन ल पेनमाथि एकजना विपक्षी उम्मेदवारको भाषण नक्कल गरेको आरोप लागेको छ।

उनको भाषण राष्ट्रपतीय निर्वचानको पहिलो चरणबाटै बाहिरिएका अनुदारवादी नेता फ्रांस्वा फियोंको भाषणसँग हुबहु मिलेको भिडियो फूटेजमा सुनिन्छ।

ती फूटेजहरु सामाजिक सञ्जाल ट्वीटरमा पनि राखिएका छन्।

सोमबार आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै ल पेनले स्रोत नखुलाइ फियोंले दुई साताअघि गरेको भाषणका अनुच्छेदहरु बोलेकी थिइन्।

शब्दावली

फियोंले बोलेका उही शब्दावलीहरु पनि ल पेनले बोलेकी थिइन्।

ल पेनको नेशनल फ्रन्ट पार्टीका एकजना अधिकारीले उनीसँग बृहत् सन्देश भएको भन्दै सो आरोपको खण्डन गरेका छन्।

ती अधिकारीले ल पेनको भाषणले फियोंप्रति "सहमति" जनाएको र उनी "जातिवादी" नभएको देखाएको बताए।

ल पेन र इम्यानुएल म्याक्रोंबीच आइतबार हुन लागेको अन्तिम चरणको चुनावमा प्रतिस्पर्धा हुँदैछ।