सिरियाली शिविरमा इस्लामिक स्टेटको आक्रमण

  • 2 मे 2017
शरणार्थी शिविर तस्वीर कपीराइट AFP

सिरियाको उत्तरपूर्वमा इराकसंगको सिमाना नजिकैको स्थलमा इस्लामिक स्टेटका लडाकुले आक्रमण गर्दा सर्वसाधारण र कुर्द लडाकु गरेर ३० जना भन्दा बढी मानिस मारिएका छन्।

आइएसका लडाकुले हस्साके प्रान्तको शद्दादी नगर नजिकैको राज्म् अल-सलिबिस्थित सिरियाली र इराकी शरणार्थीको अस्थायी शिविरलाई निशाना बनाएका थिए।

कम्तीमा ५ जना आत्मघाती बम आक्रमणकारीले राज्म् अल-सलिबिस्थित उक्त शिविरको भित्र र बाहिर आक्रमण गरेको ब्रिटेनस्थित पर्यवेक्षक समूह सिरियन अब्जर्भेटरी ले बताएको छ।

बम आक्रमण र त्यसपछिका भिडन्तमा गरेर २१ जना सर्वसाधारण सहित कम्तीमा ३२ जना मारिएको र ३० जना अरु घाइते बताएको उक्त समूहले बताएको छ।

आक्रमण

सिरियाको आधिकारिक समाचार संस्था सना ले भने ३० जना मारिएको र ३४ जना घाइते भएको जनाएको छ, तर आत्मघाती आक्रमणको उल्लेख गरेको छैन।

नजिकैको जाँचबुझ चौकीमा रहेका सिरियन डेमोक्रेटिक फोर्सेज (एसडीएफ) का सदस्यहरुसंग पनि लडाकुहरुको भिडन्त भएको थियो।

संयुक्त राज्य अमेरिकाले सहयोग गरिरहेको सो समूहले पुवी सिरियामा आइएस विरुद्धको लडाईंको नेतृत्व गरिरहेको छ।

आशंका

एसडीएफका लडाकुले घाइतेलाई हस्साके शहरस्थित अस्पताल लगेका छन् र कैयौंको अवस्था गम्भीर रहेको बताइएको छ।

लडाकुले आक्रमणका क्रममा थुप्रैजनालाई अपहरण समेत गरेको एकजना इराकी सैनिक श्रोतले बीबीसीलाई बताएका छन्।

त्यो खबरको पुष्टि हुन सकेको छैन।

तर घाइतेहरुले आफ्ना थुप्रै नातेदारसंग सम्पर्क गुमाएको सेनालाई बताएकाछन्।