नेटोका सवारीसाधनलाई लक्षित गरी विस्फोट

  • 3 मे 2017
हमला तस्वीर कपीराइट Reuters

अफ्गानिस्तानको राजधानी काबुलमा उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सँग सम्बन्धित सवारीसाधनको एउटा समूहलाई लक्षित गरी आत्मघाती बम विस्फोट गराइएको छ।

अधिकारीहरुका अनुसार कम्तीमा ८ जनाको ज्यान गएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्।

अफ्गानिस्तानको आन्तरिक मामिला मन्त्रालयका एकजना प्रवक्ताले मारिनेहरु सर्वसाधारण भएको बताएका छन्।

नेटो नेतृत्वको गठबन्धन फौजका तीनजना सदस्य पनि विस्फोटमा घाइते भएका छन्।

क्षतिग्रस्त

अमेरिकी दूतावास नजिकै बिहानको व्यस्त समयमा विस्फोट गराइएको थियो।

सँगै गइरहेका थुप्रै कारसहित नेटोको एउटा बख्तरबन्द गाडी विस्फोटबाट नराम्ररी क्षतिग्रस्त भएको छ।

वसन्तमा गरिने आक्रमणमा विदेशी फौजलाई निशाना बनाउने तालेबान विद्रोहीको चेतावनीपछि बुधबारको हमला भएको छ।

तथाकथित इस्लामिक स्टेट समूहले आक्रमणको जिम्मेवारी लिएको छ।

सन् २०१५ देखि अफ्गानिस्तानमा सक्रिय सो समूहले हालै गराइएका थुप्रै हमलाको जिम्मेवारी लिएको छ।