दुर्गालाल श्रेष्ठसंगको कुराकानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

दुर्गालाल श्रेष्ठसंगको कुराकानी

  • 5 मे 2017

कविता, गीत र बालसाहित्यमा कलम चलाउने ८२ वर्षीय दुर्गालाल श्रेष्ठ नेपाल भाषाको प्रवर्द्धनमा समेत सकृय छन्।

तर यति धेरै क्षेत्रमा योगदान दिएका श्रेष्ठ कला क्षेत्रमा भने अचानक प्रवेश गरेको बताउँछन्।

"जिन्दगीमा मैले योजना बनाएर कहीं पुग्छु भनेर गरेको केही छैन," उनी भन्छन्।

"सपना के के पालियो त्यो बीचैमा टुंगियो। यहाँ जसरी म छु त्यो आएर पुगेको जस्तो अहिले पनि अनुभव हुँदैन।"

अपमानबाट श्रृजना

असन नजिकैको न्हैकन्टोलमा जन्मेका श्रेष्ठ गाईजात्राको समयमा काठमाण्डुको टोलटोलमा जीवन्त हुने डबली नाटकको वातावरणमा हुर्केका थिए।

"गजबको कुरा, नाटक कुन चरोको नाम हो र कसरी लेखिन्छ केही कुरोको भेउ मलाई कत्ति पनि थिएन। तैपनि नाटक लेखियो।"

टोलका सँगातीहरुले बाल नाटकको रिहर्सल गर्दैछन् भन्ने सुनेर श्रेष्ठ र उनका साथीहरु उत्सुक भएर रिहर्सल गर्ने ठाउँमा पुगेछन्।

"बाहिर चाहिं खाली थियो, भित्रबाट भने छमछम आवाज आइरहेको छ। भित्र दलान छ, ढोका लाइराखेको छ," उनले भने।

ढोका ढक्ढक्याउँदा जवाफ नपाएपछि उनले त्यहाँ एउटा सानो प्वालबाट उत्सुकतावश चियाएर हेरेछन्।

"भित्रबाट एक्कासी चोर औंला यसरी घुसाइदियो कि मेरो आखा तिरमिरायो, यहाँ सुम्सुम्याउँदै थिएँ साथीहरुको छातीमा पोल्यो!" उनी सम्झन्छन्।

यही अपमान नै उनका लागि कला क्षेत्रमा कदम चाल्ने कारण बनेछ।

"एउटा नाटक खेलिटोप्लिनेहरुले यति हामीलाई अपमान गर्नु सह्य भएन। के हामी सक्दैनौ नाटक गर्न? भन्ने भो।"

नाटक लेखन

र त्यसरी उनले एघार वर्षको उमेरमा नाटक लेख्न पुगेछन्। अहिले त्यो नाटकको कथावस्तु उनलाई केही पनि याद छैन।

तर गम्भीर भएर रिहर्सल गरेपछि नाटकले निकै चर्चा प्राप्त गरेर दिनको तीन पटक देखाउनु परेको भने उनी सम्झन्छन्। "अपमानलाई संयमी भएर पाल्दा वरदान सिद्ध भइदियो।"

त्यो पहिलो नाटकलाई सम्झेर उनी अझै पनि गर्व गर्छन्, र कसैले आफूलाई कवि नभनिदिएर गाइजात्रे कलाकार मात्रै भनिदिए पनि खुशी हुने बताउँछन्।

मौलिक धुन

त्यसपछि बिस्तारै नाटकमा गीत चाहिने हुनाले नाटककै निम्ति गीत र कविता लेख्न थालेको उनी बताउँछन्।

शुरुशुरुमा हिन्दी गीतका धुनको आधारमा गीतको लय बनाएतापनि किसानहरुसंग संगत हुन थालेपछि आफ्नै मौलिक धुनको सराहना गर्न थालेको उनी बताउँछन्।

"रोपाईंको बेला र धान काट्ने बेला म खेतमा बरोबर पुगिरहन्थें," उनी भन्छन्।

"काम त एउटा पाटो हो तर त्यहाँ उनीहरुले त्यो दुःख बिर्सन गाउने गीतहरु, नाच्ने नाचहरु आफ्नै मौलिक धुनले यति सुसज्जित थिए कि मलाई त छक्क लाग्यो! नेपाल सानो भए पनि सांगीतिक रुपमा सम्पन्न रहेछ! ऋतु ऋतुको बेग्लै धुन हुँदो रहेछ।"

प्रेमगीत

त्यस्ता धुनको आधारमा उनले लेखेका थुप्रै गीत मध्ये केही उनी सम्झन्छन्। दस सालमा नेपाल भाषामा लेखेको एउटा गीतको अर्थ उनी बताउँछन्।

केटीले भन्छेः "मैले तिम्रो तस्वीर भए पनि पाउँ न," र त्यसको उत्तरमा केटाले भन्छः "पशुपति, गुह्येश्वरी घरमा बसेर पनि त दर्शन गर्न सकिन्छ नि। तस्वीर मनमा भएपछि कागजको फोटो चाहिन्छ र?"

कालान्तरमा श्रेष्ठले प्रेमका त्यस्ता थुप्रै कविता लेखेका छन्। तर उनी भने ती कृतिलाई कविता मान्दैन रहेछन्।

"अरुले कविता भन्लान, तर अरुको जस्तो कविता लेख्न मलाई अझै आउँदैन," उनी भन्छन्।

"एउटा गुनगुनले मलाई साथ दिइराखेको हुन्छ। त्यो गुनगुनसंगै म बग्छु, र त्यसैमा बगेर मेरा शब्द फुर्छन्।"

कवितामा कविता

एउटा धुन नभइ आफूलाई कविता पनि लेख्न नआउने उनी बताउँछन्, र त्यसकारण अरुले कविता भने पनि उनी आफ्ना कृतिलाई गीत नै मान्दछन्।

तर कविता जस्तोसुकै भएतापनि त्यसमा 'कविता' भने हुनुपर्नेमा उनको जोड छ।

"कविता प्रेमको पनि हुन सक्छ, धर्मको, राजनीतिको जस्तो पनि हुन सक्छ। प्रेमको कविता लेख्दा मैले त्यो प्रेमलाई यसरी मनन गर्नुपर्छ कि त्यो मनसंगै मुछिएर आएको शब्द होस् न!"

कुनै पनि विषयमा इमानदार भएर डुबिसकेपछि मात्रै शब्दमा भाव आउने उनको विचार छ। शब्द जतिसुकै राम्रो भएपनि भाव भएन भने त्यो कविता नहुने उनी बताउँछन्।

"जब प्रकृतिले मलाई यसरी घोच्छ, अनायासै कविता फुर्छ," आफ्नो कविता लेखन अ उनी भन्छन्।

"जब कविताको लागि म साधनारत भएर डुब्छु, र त्यसैमा आफूलाई हराएको हुन्छु, त्यो आफूलाई म कवितामा पाउँछु।"

दर्शनको प्रभाव

त्यसरी डुबेर उनले लेखेका कवितामा अक्सर दर्शनले भरिएका हुन्छन्। बुद्धसम्बन्धी किताब पढेर बौद्ध दर्शनतिर ढल्केको उनी बताउँछन्।

"श्रेष्ठ भएपनि हिन्दु धर्मसंग म त्यति नजीक छैन," उनी भन्छन्। "बौद्ध दर्शन यति गहन लाग्यो कि मेरो धेरै कुरा त्यसैमा आबद्ध हुन पुगे जस्तो लाग्छ।"

त्यस्तो दर्शनले प्रयुक्त उनले लेखेको गीत 'फूलको आँखामा फूलै संसार' निकै चर्चित भयो। त्यो गीत लेख्नुको पनि कथा रहेछ उनीसंग।

"एक्कासी न्हयु बज्राचार्य गितार सहित बिहान आठै बजे मेरो घरमा पुगे," उनी त्यो दिन सम्झन्छन्।

"उनीसंग एउटी केटी थिइन्, चीवर धारी। अनि उनकै निमित्त एउटा धुन बनाएको भनेर गितार झिकेर न्ह्युले सुनाउन लागे।

धुन सुन्दै जाँदा अनायासै मेरो आँखा आनीको त्यो कमनीय अनुहार माथि प-यो। मलाई त्यो अनुहार एउटा बोट जस्तो पो लाग्यो।

र त्यो बोटको हरेक हाँगामा फूल फूलिरहेको जस्तो। त्यो गीत मैले लेखेको होइन, शब्द मात्रै टिपेको जस्तो पो लाग्यो।"

कविको भूमिका

त्यसरी अचानक प्रेरणा पाएपछि त्यो गीत पाँच मिनेटमै लेखिसकिएको उनले बताए।

त्यो गीतले त्यति चर्चा पाउँछ भन्ने उनको अपेक्षा थिएन, तर अहिले भने आफू फूलको आँखामै सीमित भएजस्तो उनलाई लाग्दो रहेछ। "अरु मेरो परिचय नै छैन जस्तो," उनी भन्छन्।

"नेपालमा जनयुद्धको ताका थियो। जहाँ तहीं हत्या हिंसा।

मैले गर्छु भनेर होइन, तर मान्छेमा एउटा ढाडस दिन पाए हुन्थ्यो भन्ने जस्तो मेरो मनमा थियो कि?" गीतले पाएको चर्चाको विश्लेषण उनी यसरी गर्छन्।

हुन त उनले 'सय थरी बाजा' लगायत अरु थुप्रै गीत लेखेका छन्, एकताका र दर्शनका।

तर कवि भनेर कुनै दायित्व बोकेर नहिँडको उनी बताउँछन्। "सामान्य जनता हुँ, र मेरो कुनै काम जनताप्रति प्रतिकूल नहोस् भन्ने मात्रै लाग्छ!"

सकृयता

८२ वर्षको उमेरमा पनि लेखनमा भने सकृय नै छन् र भर्खरै लेखेको कविता सुनाउँछन्।

राजनीति रे! नाम त कत्रो, तर यो कति लाचार

लाश माथि नै चल्दछ यसको किन यत्रो व्यापार

भक्कु झैं रगताम्य म देख्छु नेताका अनुहार

सुन्दमुसुन्दहरुका नै जो हुन् है रचनाकार

तर यही छन् खुल्दै छ कि लाग्छ इन्कलाबको द्वार

पूर्णतया देख्नेछु जहाँ म जनताको सरकार

सकारात्मक सोचमा टुंगिएको यो कविताका बारेमा उनले भने, "नराम्रो, असाधारण स्थिति आउनु पनि लच्छिन हुन्छ। खम्बा चिरेर भगवान निस्के झैं यो अन्धकार चिरेर भगवानको जन्म हुन्छ।"

यो उमेरमा पनि सकारात्मक सोचको रहस्यका बारेमा सोध्दा उनले अर्को कविता सुनाए मनको शुद्धताका बारेमाः

जे जति पनि हो, मै हुँ मेरो। मै मेरो आधार

यो आँखा जे जस्तो देख्छ त्यस्तै हो संसार

मुख्य कुरा यो मेरो मन हो, मन नै अपरम्पार

निर्मल मन जब निर्मन हुन्छ, तब निस्कन्छ निखार

यही हो यही हो मेरो बाँच्नु यही हो जीवनसार

यसरी जाउँ आउनु नपरोस् फेरि म बारम्बार

इच्छा बाँकी

तर बहुचर्चित धेरै कविता र गीत लेखेर पनि उनी आफ्नो कृतित्वबाट सन्तुष्ट भने रहेनछन्।

भन्छन्: "एउटै गीतको इच्छा गरेको थिएँ, तर धेरै गीत लेख्दा पनि त्यो एउटा गीत मैले भेटाउन सकेको छैन।

धेरै लेखेको कारण यति मात्रै हो कि त्यो कुनै पनि गीतै होइन। त्यो मैले गीत भेटाउन जाँदाखेरी बाटोमा पाएको घाँसै फूल मात्रै हो।"

तर ८२ वर्षको उमेरमा पनि आफूले इच्छा गरेको त्यो गीत भेटाउने सपना भने उनले त्यागेका छैनन्, र त्यसबाट नै उर्जा प्राप्त गरिरहेका छन्।

भन्छन्: "त्यो ठाउँ निर म शायद पुग्दैछ। म त्यो गीत भेटाएरै छोड्छु।"