स्वास्थ्य विधेयकमा राष्ट्रपति ट्रम्पको जित

  • 5 मे 2017
ट्रम्प स्वास्थ्य विधेयक तस्वीर कपीराइट Getty Images
Image caption अभियानकर्मीहरुले ट्रम्पको स्वास्थ्य सेवा विधेयक विरुद्ध प्रदर्शन गरेका छन्

अमेरिकी संसदको तल्लो सदनले अमेरिकी राष्ट्रपति ट्रम्पको प्रमुख चुनावी वाचा पूर्ति गर्ने दिशामा सहयोगी हुने गरि एक नयाँ स्वास्थ्य सेवा विधेयक पारित गरेको छ।

अमेरिकन हेल्थ केयर एक्ट नामक उक्त कानूनले विगतको सरकारको पालाको ओबामाकेयर भनिने कानूनलाई खारेजी र विस्थापन गर्ने उद्देश्य लिएको छ।

झिनो बहुमत

तल्लो सदनले झिनो बहुमतले पारित गरेको उक्त विधेयक अब माथिल्लो सदन सिनेटले पनि पारित गर्नु पर्छ।

तल्लो सदनमा सो विधेयकलाई विपक्षी डेमोक्र्याटिक पार्टिले एक मतले अस्वीकार गरेका थिए।

तर तल्लो सदनले पारित गरेपछि राष्ट्रपति ट्रम्पको निम्ति आफ्नो कार्यकालको यो पहिलो विधायिकी सफलता भएको छ।

गत मार्च महिनामा उक्त नयाँ कानूनका प्रावधानबारे रिपब्लिकन दलभित्रै कुरा नमिलेपछि तल्लो सदनमा त्यो विफल भएको थियो।

तर यसपाली चाहिं झिनो अन्तरले त्यो सफल भयो।

२१६ मत चाहिनेमा सो कानूनको पक्षमा २१७ मत खसेको थियो।

सिनेटमा रिपब्लिकनहरुको बहुमत झिनो नै छ।

केही रिपब्लिकन सिनेटरले पनि नयाँ कानूनबारे प्रश्न उठाएका छन्। त्यसैले माथिल्लो सदनबाट पारित गर्न सहज हुने देखिंदैन।

राष्ट्रपति ट्रम्प भने सिनेटबाट पनि उक्त कानून पारित हुनेमा विश्वस्त छन्।

"जहाँसम्म मलाई लाग्छ अब सबैको बीमा प्रिमियम घट्नेछन्। यो सिनेटबाट पनि पारित हुनेछ। म एकदमै विश्वस्त छु," उनले भने।

त्यसमाथि नयाँ कानूनले सिर्जना गर्ने लागत तथा कति अमेरिकीले यसबापत बीमा गुमाउनेछन् भन्ने हिसाबकिताब प्रष्ट भइसकेको छैन।