महाभियोग प्रस्ताव पेश गर्दा विपक्षीको अवरोध

  • 5 मे 2017

प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलका सांसदको विरोधका कारण प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव संसद्‍मा शुक्रबार पेश हुन सकेन।

शुक्रबार दिउँसो बसेको संसदको बैठकमा सभामुख ओनसरी घर्तीले कांग्रेस सांसद मीनबहादुर विश्वकर्मालाई महाभियोग प्रस्ताव पेश गर्न अनुमति दिए लगत्तै विपक्षी दलका सांसदले नाराबाजी शुरु गरेका थिए।

नाराबाजीका बीच सभामुख घर्तीले महाभियोगसहितका विषय बैठकको कार्यसूचीबाट हटाएकी थिइन्।

सभामुखले अर्को बैठक आइतबार एक बजेका लागि तोकेकी छिन्।

विरोध

एमालेले महाभियोग प्रस्तावको विरोध गर्दै त्यो फिर्ता लिनुपर्ने माग गर्दै आएको छ।

उसको सो कदममा केही साना विपक्षी दलहरुले पनि साथ दिइरहेका छन्।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २४९ जना सांसदले गएको आइतबार संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए।

सरकारको कार्यकारिणी क्षेत्राधिकारको विषयमा हस्तक्षेप गरेको, प्रहरी प्रमुखको नियुक्तिसम्बन्धी मन्त्रिपरिषद्को निर्णय किर्ते कागजलाई आधार मानेर बदर गरेको, न्यायालयभित्र गुटबन्दी गरेको सहितका आरोप कार्कीमाथि लगाइएको छ।

उक्त महाभियोग पारित गराउन कुल सदस्य संख्याको दुई तिहाई सांसदहरुको समर्थन आवश्यक पर्छ।

महाभियोग प्रस्तावप्रति विमति जनाउँदै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिसकेको छ।

हस्तक्षेप

सो कदमको कांग्रेस र माओवादी केन्द्रले बचाउ गर्दै आएपनि चौतर्फी आलोचना भइरहेको छ।

सर्वोच्च अदालतका केही पूर्व न्यायाधीशहरुले पछिल्लो कदमले "न्यायपालिका स्वतन्त्र रहन नसक्ने" बताएका छन्।

महाभियोग प्रस्ताव दर्ता गराइएसँगै हाल प्रधानन्यायाधीश कार्की कामकाज गर्न नपाउने निलम्बनको अवस्थामा छिन्।

सभामुख घर्तीले उक्त प्रस्तावको विरोध गरेपनि त्यसबारे टुंगो लगाउन अघि बढाइएको प्रकियाका विरोध नगर्न विपक्षी दलहरुलाई आग्रह गरेकी छन्।