उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान

  • 5 मे 2017
Image caption पहिलो चरणको निर्वाचनमा करिब ४८ हजार उम्मेदवार प्रतिस्पर्द्धामा छन्

पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि अन्तिम सूचीमा रहेका २ सय ८३ वटै स्थानीय तहका उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालय मार्फत निर्वाचन चिन्ह दिने काम सकिएको निर्वाचन आयोगले जनाएको छ।

चुनाव चिन्हको वितरणसँगै चुनाव प्रचार प्रसारले गति लिएको छ।

झन्डै ५० हजारले उम्मेदवारी दिएकोमा १५ सय जतिले फिर्ता लिएको र २ सय भन्दा बढी उम्मेदवार निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ।

आउँदो बैशाख ३१ गते हुने मतदानका लागि १९ गते उम्मेदवारी लिने काम गरेको निर्वाचन आयोगले उजुरी फिर्ता लगायतका प्रक्रिया पुरा गरेर शुक्रबार उम्मेदवारलाई चुनाव चिन्ह दिएको हो।

प्रतिस्पर्द्धा

१३ हजार ५ सय ५६ पदका लागि हुन लागेको पहिलो चरणको निर्वाचनमा करिब ४८ हजार उम्मेदवार अन्तिम प्रतिस्पर्द्धामा रहेका छन्।

उनीहरुलाई दल, संयुक्त र स्वतन्त्र गरी ३ प्रकारका चुनाव चिन्ह दिइएको निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले बताए।

उनले भने, "जो संसदमा रहेका दलको तर्फबाट उम्मेदवार बनेकालाई सम्बन्धित दलकै चुनाव चिन्ह दिएका छौं। संयुक्त मोर्चाको रुपमा आउनेलाई सहमतिमा एउटा चिन्ह दिएका छौं भने बाँकीलाई स्वतन्त्र चुनाव चिन्हहरु दिएका छौं।"

उम्मेदवारहरुले चुनाव चिन्ह पाएसँगै प्रचार प्रसारको कामले गति लिएको छ।

निर्वाचन आयोगमा दल दर्ता गरेर पनि कानुनमा गरिएको परिवर्तनका कारण चुनाव चिन्हबाट वञ्चित भएका दलका उम्मेदवारहरु र लामो समय अघि नै उम्मेदवारी घोषणा गरेपनि चुनाव चिन्हको टुंगो नलागेका स्वतन्त्र उम्मेदवारहरुले प्रचार प्रसारको कामलाई तीव्रता दिएका छन्। संसदमा रहेका दलहरुको चुनाव चिन्ह पहिले नै कायम भएकाले उनीहरुले यसअघि नै प्रचार सामग्रीहरु बनाएर चुनाव अभियानमा लागि सकेका थिए।

उम्मेदवारी फिर्ता

४ वटा महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिकामा उम्मेदवारी दिएका मध्ये १४ सय ५८ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ।

संचार सम्पर्क भन्दा बाहिर रहेका केही निर्वाचन अधिकृतको कार्यालयबाट मनोनयन फिर्ताको थप जानकारी आउन सक्ने आयोगले अनुमान गरेको छ।

केही उम्मेदवार भने निर्विरोध भएको आयोगका सचिव मैनालीले बताए।

उनले भने, "निर्वाचन अधिकृतका कार्यालयहरुबाट प्राप्त विवरण अनुसार विभिन्न पदमा गरी २ सय ३७ पदमा उम्मेदवार निर्विरोध भएको छ। तर कुन कुन गाउँपालिका र नगरपालिकामा कुन कुन पद भन्ने विवरण भने अझै उपलब्ध भएको छैन।"

अनुगमन

निर्वाचन चिन्ह दिने काम सकिएसँगै निर्वाचन आयोगले आफ्नो ध्यान आचारसंहिता अनुगमन, मतदाता परिचयपत्र वितरणतिर केन्द्रित गरेको आयोगका अधिकारीहरुले जनाएका छन्।

अनुगमनका लागि केन्द्रीय स्तरबाटै अनुगमन टोली खटाउने काम भैसकेको र परिचयपत्र बाँड्नका लागि २७ गते सबै मतदानस्थलमा निर्वाचन टोली पुराउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

आयोगका अनुसार पहिलो चरणमा जम्मा ६ हजार ६ सय ४२ मतदान केन्द्रमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले मतदान गर्न पाउने छन्।