भारतद्वारा ‘दक्षिण एसिया भूउपग्रह’को सफल प्रक्षेपण

  • 6 मे 2017
भारत तस्वीर कपीराइट ISRO

भारतले श्रीहरिकोटा अन्तरिक्ष केन्द्रबाट दक्षिण एसियाका लागि नयाँ सञ्चार भूउपग्रह सफलतापूर्व प्रक्षेपण गरेको छ।

उक्त भू-उपग्रहका लागि सम्पूर्ण लगानी भारतले गरेको छ र यसले क्षेत्रीय रुपमा संचार तथा प्रसारण सेवालाई मजबुत बनाउने उद्देश्य राखेको छ।

श्रीलंका, माल्दिभ्स, बांग्लादेश, नेपाल र भुटानलाई उक्त भूउपग्रहबाट फाइदा पुग्ने बताइएको छ।

तर पाकिस्तान भने उक्त अभियानको हिस्सा रहेको छैन।

अन्तरिक्ष कूटनीति

तस्वीर कपीराइट ISRO

विश्लेषकहरुले भूउपग्रह प्रक्षेपणलाई प्रधानमन्त्री मोदीको अन्तरिक्ष कूटनीति भनिरहेका छन्।

सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेख्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त प्रक्षेपणमा संलग्न वैज्ञानिकहरुलाई बधाइ दिदैँ उनीहरुका कामबाट गर्व लागेको बताएका छन्।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था आइएसआरओलाई उक्त भूउपग्रह निर्माण गर्न तीन वर्ष लागेको थियो।

साउथ एसिया भूउपग्रहमा रेडियो संकेतहरुको प्रवाह गर्ने १२ केयु ब्याण्ड क्षमताका 'ट्रान्सपोन्डर'हरु रहेका छन् जसमध्ये प्रत्येक देशलाई कम्तीमा एउटा 'ट्रान्सपोन्डर' उपलब्ध गराइएको छ।

तस्वीर कपीराइट Getty Images

भूउपग्रहबाट फाइदा दिन जमिनमा निर्माण गर्नुपर्ने सरचनाहरु भने सम्बन्धित देशहरुले आँफै बनाउनुपर्नेछ तर त्यसका लागि भारतले मद्दत गर्ने बताइएको छ।

प्राकृतिक विपदको समयमा विभिन्न देशहरुबीच महत्वपूर्ण सञ्चार सम्बन्ध स्थापना गर्न पनि उक्त भूउपग्रहले मद्दत गर्ने बताइएको छ।

दक्षिण एसियाले भूकम्प, चक्रवात, बाढी र सुनामी जस्ता विपदहरुको सामना बेला बेलामा गर्ने गरेको छ।

तस्वीर कपीराइट AFP

विपदको समयमा सुरक्षित रुपमा सञ्चार गर्ने र खोज तथा उद्दार कार्यमा नयाँ भूउपग्रहले मद्दत गर्नसक्ने ठानिएको छ।

रणनीति

विज्ञानसम्बन्धी एक जना लेखक पल्लभ बागला भन्छन् दक्षिण एसिया भूउपग्रह भारतीय प्रधानमन्त्री मोदीले आफ्ना छिमेकी देशहरुलाई दिएको अत्यन्तै उपयोगी उपहार भएको बताएका छन्।

तस्वीर कपीराइट narendramodi.in

उनले यो अभियानका हिस्सेदार देशहरुले आफैँ त्यस्तो पहुँच प्राप्त गर्न झण्डै एक अर्ब डलर खर्च गर्नुपर्ने हुन्थ्यो।

भारत सरकाले यो भूउपग्रहलाई टेलिभिजन, डिटिएच सेवा, शिक्षा, टेलिमेडिसन, मौसम पूर्वानुमान र विपद व्यवस्थापन सहयोग जस्ता काममा प्रयोग गर्ने बताएको छ।

लेखक बागला भन्छन्, भारतले भूउपग्रहसम्म पहुँच उपलब्ध गराउनुको एउटा उद्देश्य आफ्ना छिमेकी देशहरुमा बढ्दो चिनियाँ प्रभावलाई नियन्त्रण गर्नुपनि रहेको छ।

तर एसियामा २१औँ शताब्दीको अन्तरिक्ष प्रतिस्पर्धा धेरै पहिला नै शुरु भएको हो र चीन अहिले पनि उक्त दौडमा निक्कै अगाडि छ।

चीनले पाकिस्तान र श्रीलंकाका लागि भूउपग्रहको सेवा उपलब्ध गराइसकेको छ र दक्षिण एसियाका अन्य देशलाई पनि मद्दत गर्न आफू तयार रहेको बताउने गरेको छ।