फ्रान्समा चुहिएका दस्तावेज नफैलाउन आग्रह

  • 6 मे 2017
उम्मेदवारहरुs तस्वीर कपीराइट AFP

फ्रान्सको निर्वाचन आयोगले राष्ट्रपतीय निर्वाचनका मध्यमार्गी उम्मेदवार इम्यानुएल माक्रोंको चुनावी अभियान टोलीबाट ह्याक गरिएका दस्तावेज र इमेलहरु प्रकाशित नगर्न सञ्चार माध्यम र सर्वसाधारणलाई अपील गरेको छ।

माक्रोंमाथि एउटा ठुलो ह्याकिङ आक्रमण गरिएको उनको चुनावी अभियान टोलीले बताएको छ।

मानिसहरुलाई झुक्याउनका लागि चुनावी अभियानका दस्तावेजमा नक्कली दस्तावेजहरु मिसाइएको माक्रोंको चुनावी अभियान टोलीले जनाएको छ।

आइतबार हुने राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणभन्दा अगाडि माक्रोंलाई कमजोर बनाउनका लागि त्यस्तो गरिएको स्पष्ट देखिएको उनीहरुको भनाई छ।

त्सर्ना

निर्वाचनमा मध्यमार्गी माक्रोंले चरम दक्षिणपन्थी उम्मेदवार मरीन ले पेनको सामना गर्नेछन्।

शुक्रबार बेलुकी एकजना अज्ञात प्रयोगकर्ताले ती दस्तावेज एउटा वेबसाइटमा राखेका थिए र चुनावी अभियानको समयसीमा सकिनुभन्दा केही समय अगाडि माक्रोंको टोलीले त्यसको भत्सर्ना गरेको थियो।

इमेल र आर्थिक विवरण लगायतका चुनावी अभियानसंग सम्बन्धित दस्तावेजहरु नियोजित रुपमा चोरी गरिएको माक्रोंको टोलीले बताएको छ।

अब आइतबार निर्वाचन सम्पन्न हुनुभन्दा अगाडि उम्मेदवार र सञ्चार माध्यममाथि प्रतिबन्धहरु लगाइएका छन् र माक्रोंले थप वक्तव्य जारी गर्न पाउँदैनन्।

चेतावनी

मत सर्वेक्षणहरुका अनुसार भूतपुर्व अर्थमन्त्री माक्रों आफ्नी प्रतिद्वन्द्वी लेपेन भन्दा २० प्रतिशतले अगाडि छन्।

आइतबार हुने निर्वाचन अगाडि जिम्मेवार बन्न र मतदानको इमानदारीलाई भंग गर्नसक्ने कुनै पनि काम नगर्न फ्रान्सको निर्वाचन आयोगले एउटा वक्तव्य मार्फत आह्वान गरेको छ।

त्यस्तो सल्लाहको बेवास्ता गर्ने मानिसमाथि अभियोग लगाइन सक्ने आयोगले चेतावनी दिएको छ।

ह्याकिङ कसले गरेको हो त्यो स्पष्ट भइसकेको छैन र माक्रोंको समूहले पनि कसैलाई उल्लेख गरेको छैन तर यो चुहावटलाई गत वर्ष अमेरिकी निर्वाचनका क्रममा डेमोक्रेटिक पार्टीका इमेलहरु चुहिएको घटनासंग दाँजेको छ।

पछिल्ला आक्रमण

माक्रोंको टोली यो भन्दा अघि पनि ह्याकिङ आक्रमणको शिकार भएको थियो र उसले ती आक्रमणको दोष रुस र युक्रेनमा आधारित समूहहरुमाथि लगाएको थियो।

रुसलाई समर्थन गर्ने नीतिको पक्षमा रहेकी ले पेनलाई क्रेमलिनले सहयोग गर्न चाहेको माक्रोंको टोलीको आशंका छ।

रुसले ती आरोप अस्वीकार गरेको छ।

माक्रोंको विदेशमा गोप्य ब्यांक खाता छ भन्ने हल्ला चलेपछि उनले त्यस विरुद्ध मुद्दा दर्ता गराएका थिए।

प्रभाव

दशकौंदेखि फ्रान्सको नेतृत्व गरेका सोसलिस्ट र रिपब्लिकन पार्टीलाई फ्रान्सका जनताले राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा अस्वीकार गरेका छन्।

अब बाँकी रहेका दुइ उम्मेदवार मूलधारका राजनीतिक पार्टी बाहिरका हुन्।

आइतबार हुने मतदानमार्फत फ्रान्सका जनताले भविष्यमा देशले लिने दिशा र युरोपली संघमा फ्रान्सको स्थानका बारेमा निर्णय गर्नेछन्।