‘मदर अफ अल बम्स’ नामप्रति पोपको आक्रोश

  • 7 मे 2017
पोप तस्वीर कपीराइट AFP

इसाइ धर्मगुरु पोप फ्रान्सिसले अमेरिकी सेनाले फौजी कारबाहीमा प्रयोग गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली गैरपरमाणु बमको नाम 'द मदर अफ अल बम्स' राखिएकोमा असन्तुष्टि जनाएका छन्।

भ्याटिकनमा विद्यार्थीहरुको एउटा समूहलाई सम्बोधन गर्दै उनले भने, "त्यो नाम सुनेपछि मलाई लाज लाग्यो। आमाले सन्तानलाई जन्म दिन्छिन तर त्यो बमले त मृत्यु दिन्छ अनि त्यस्तो वस्तुलाई हामी आमा भन्छौँ, किन यस्तो गरेको होला?"

अघिल्लो महिना अमेरिकाले इस्लामिक स्टेटविरुद्ध अफगानिस्तानमा करिब ९ हजार ८ सय किलोको उक्त बम प्रहार गरेको थियो।

‘मदर अफ अल बम्स

अमेरिकाद्वारा सबैभन्दा शक्तिशाली बम प्रहार

बम

तस्वीर कपीराइट Reuters

पेन्टागनले उक्त बम अमेरिकी विमानमार्फत नाङ्गहार प्रान्तको पहाडी क्षेत्रमा अवस्थित इस्लामिक स्टेटले प्रयोग गर्ने गुफाहरुमा खसालिएको जनाएको थियो।

औपचारिक रुपमा 'जीबीयु-फोर थ्री/बी म्यासिभ ओर्डनेन्स एअर ब्लास्ट बम' (एमओएबी) भनिने उक्त बमलाई चलनचल्तीमा 'मदर अफ अल बम्स' अर्थात 'बमहरुकी आमा' भन्ने गरिन्छ।

सबैभन्दा शुरुमा उक्त बमको परीक्षण सन् २००३ मा गरिएको थियो तर अफगानिस्तान भन्दा पहिले त्यसलाई कुनै फौजी कारबाहीमा प्रयोग गरिएको थिएन।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पोपले मे २४ मा भेट्न लागेका छन्।