फ्रान्सका केही भागमा मतदान सम्पन्न

  • 7 मे 2017
सुरक्षा तस्वीर कपीराइट EPA

फ्रान्सका केही भागमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार दोस्रो तथा अन्तिम चरणको मतदान सकिएको अधिकारीहरुले जनाएका छन्।

मतदाताहरुले चरम दक्षिणपन्थी मारिन ल पेन र मध्यमार्गी एम्यानुएल म्याक्रों मध्ये एकजनालाई चयन गर्नुपर्नेछ।

मतदान केन्द्रहरुको सुरक्षाका लागि ५० हजार प्रहरी परिचालन गरिएका थिए भने गस्तीका लागि देशभर अर्धसैनिकहरु खटाइएका थिए।

नयाँ अध्याय

म्याक्रोंले आफ्नो गृहनगर लुटूकेमा मतदान गरे भने ल पेनले राष्ट्रवादीहरुको बलियो पकड रहेको श्रमजीवी बहुल एनां बोमों शहरमा मतदान गरेकी थिइन्।

स्थानीय समयअनुसार ८ बजे मतदान सकिएपछि उनीहरु राजधानी प्यारिस फर्किंने छन्।

फ्रान्सको चुनावी इतिहासमा यो निर्वाचनले नयाँ अध्याय थपेको छ किनभने पहिलोपटक देशका दुई प्रमुख पार्टीका उम्मेदवारहरु दोस्रो चरणसम्म पुग्न सकेनन्।

तस्वीर कपीराइट AFP

सोसलिस्ट र रिपब्लिकन दुवै पार्टी पहिलो चरणको मतदानबाटै बाहिरिएका छन्।

हाल प्रतिस्पर्धामा रहेका दुवै उम्मेदवारले संस्थापन बाहिरको प्रतिनिधित्व गर्दछन्।

भविष्य

यद्यपि म्याक्रों सधैं सत्तामा रहिरहने संभ्रान्तहरुबाटै आएका हुन्।

प्रारम्भिक विवरण अनुसार पछिल्ला दुईवटा राष्ट्रपतीय चुनावको तुलनामा यो चुनावमा सबैभन्दा कम मत खसेको छ।

युरोपेली संघ (इयु) को भविष्यलाई प्रभावित पार्न सक्ने भएकोले यो निर्वाचनलाई युरोपभर नजिकबाट नियालिंदै छ।

मतदान सकिएको केही समयपछि नतिजा बाहिर आउने अपेक्षा गरिएको छ।

दुवै उम्मेदवारले फ्रान्सबारे बिल्कुलै फरक दृष्टिकोण राखेका छन्।