महाभियोग संसद्को विशेषाधिकार: सभामुख

  • 7 मे 2017
घर्ती

सभामुख ओनसरी घर्तीले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव संसद्को विशेषाधिकार र आन्तरिक मामिला भएको टिप्पणी गरेकी छन्।

सभामुखको अभिव्यक्तिले महाभियोग अघि नबढाउन दिइएको सर्वोच्च अदालतको आदेशप्रति असहमति दर्शाउँछ।

तर छलफलबाट समाधान निकाल्न सजिलो होस् भन्दै आफूले संसद् बैठक सारेको बताइन्।

संसद्‌ अवरोध लगत्तै आएको अदालतको आदेशबारे संसद् सचिवालयबाट औपचारिक प्रतिक्रिया आएको थिएन।

आन्तरिक मामिला

आइतबार पत्रकार सम्मेलन गर्दै सभामुख घर्तीले भनिन्, "महाभियोगको प्रस्ताव विधिवत रुपमा प्रवेश गरिसकेको छ। संसद्‍मा प्रवेश गरिसकेका प्रस्ताव कसरी अघि बढाउने भन्ने विषय संसद्को आन्तरिक मामिला र विशेषाधिकार हो।"

संसद्‌मा शुक्रबार अघि बढाउन खोजिएको प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमा सर्वोच्च अदालतले तत्कालकानिम्ति अंकुश लगाइदिएपछि आइतबारको निम्ति तोकिएको संसद् बैठकमा धेरैको चासो थियो।

तर सभामुखले आइतबार महाभियोग प्रस्ताव अघि बढाउने प्रयत्न गरिनन्।

ठम्याइ

उनले राज्यका प्रमुख अंगबीचको टकरावले 'लोकतन्त्र संस्थागत गर्न र निर्वाचनलाई समेत प्रतिकूल असर पर्ने' ठम्याइ सुनाइन्।

त्यसैले 'आपसी वार्ता, संवाद र छलफलका माध्यमबाट समस्या समाधान गर्न सहज होस् भनेर संसद् बैठक स्थगित गरेको' सभामुख घर्तीको भनाई थियो।

उनले संसद् बैठक पहिलो चरणको चुनावपछि जेठ ४ गतेको निम्ति तोकेकी छन्।

राज्यका तीन अंगबीच देखिएको टकरावका माझ प्रमुख दलका प्रमुख नेताबीच समस्या सुल्झाउन भन्दै सघन छलफल भइरहेको बताइएको छ।