फ्रान्समा एकदमै दुब्ला मोडलहरुमाथि प्रतिबन्ध

  • 8 मे 2017
फ्रान्स तस्वीर कपीराइट Getty Images

फ्रान्समा स्वास्थ्यमा नै प्रतिकुल असर पर्ने गरी आफूलाई दुब्लो बनाएका फेसन मोडलहरुको प्रयोगमा प्रतिबन्ध लगाउने कानून कार्यान्वयनमा आएको छ।

सो कानून अनुसार अब मोडलहरुले चिकीत्सकहरुले उनीहरुको शारिरिक स्वास्थ्य समग्रमा ठिक रहेको प्रमाणित गरेको कागजपत्र ल्याउनुपर्छ।

त्यस्तो कागजपत्रमा बडी मास इन्डेक्स बीएमआइ भनिने उचाई अनुसार शरिरको तौल ठिक भए या नभएको कुरा खुलाइएको हुनुपर्छ।

स्वास्थ्य मन्त्रालयले सुन्दरताका अप्ठेरा आदर्श प्राप्त गर्न खानासमेत त्याग्ने व्यवहारलाई नियन्त्रण गर्नु नयाँ कानूनको उद्देश्य भएको बताएको छ।

तौल

नयाँ कानून अन्तर्गत अब डिजिटल प्रविधिबाट तस्वीरमा गरिएका परिवर्तन फोटोमानै खुलाउनुपर्ने नियम पनि आगामी अक्टोबर १ बाट लागू गरिनेछ।

मोडलको शारिरिक बनावटलाई डिजिटल विधीबाट परिवर्तन गरिएको अवस्थामा त्यसबारे पनि तस्वीरमा उल्लेख गर्नुपर्ने कानूनले व्यवस्था गरेको छ।

यसअघि सो कानूनको मस्यौदामा मोडलको उचाई अनुसार न्यूनतम शारिरिक तौलको व्यवस्था राखेको थियो, जसको फ्रान्सका मोडलिङ एजेन्सीले विरोध गरेका थिए।

तस्वीर कपीराइट Getty Images

तर सन् २०१५ मा सांसदहरुले अनुमोदन गरेको कानूनको अन्तिम परिमार्जनले मोडलको शरिरको तौल, उमेर र शरिरको आकारलाई हेरेर उनी कति दुब्ली हुन मिल्छ भन्ने निर्धारण गर्ने अधिकार दिएको छ।

सजाय

उक्त कानून उल्लंघन गर्नेलाई बढीमा ७५ हजार युरोसम्मको जरिवाना र बढीमा ६ महिनासम्म जेल सजाय हुनसक्छ।

फ्रान्सकी सामाजिक मामिला तथा स्वास्थ्य मन्त्री मारिसोल टुरेन भन्छिन्, "युवाहरुलाई शरिरको अवास्तविक तस्वीर देखाउनाले आफ्नै अवमूल्यन हुनुका साथै आत्मविश्वास समेत कमजोर हुनसक्छ। त्यसले स्वस्थ्य सम्बन्धी व्यवहारमा पनि प्रभाव पार्नसक्छ।"

कम तौल भएका मोडललाई नियमन गर्ने फ्रान्स पहिलो देश भने होइन।

यसअघि नै इटली, स्पेन र इजरेलले यसबारे कानून ल्याइसकेका छन्।

भोक नलाग्ने विमारीलाई एनोरेक्सिया भन्ने गरिन्छ र फ्रान्समा त्यसबाट पीडित ३० हजार देखि ४० हजार मानिसहरु मध्ये ९० प्रतिशत महिला रहेका छन्।