‘कानूनी तथा व्यावहारिक हिसाबले तत्काल मतगणना उपयुक्त’

  • 8 मे 2017
निर्वाचन आयोग

दुई चरणमा गर्न लागिएको स्थानीय तहको निर्वाचनमा पहिलो चरणको मतगणना मतदान लगत्तै गरिनु उपयुक्त हुने निर्वाचन आयोगले बताएको छ।

आयोगका एकजना आयुक्त ईश्वरीप्रसाद पौडेलले कानूनी तथा व्यावहारिक दुवै हिसाबले त्यसो गरिनु उपयुक्त हुने बताए।

उनले भने, "हुनसक्छ भोलि त्यही पहिलो चरणको मतपरिणामवाट कुनै राजनीतिक दलले आफुले सफलता हासील गर्न नसकेको अवस्थामा मतपेटिका फेरिए भन्न सक्ने अवस्था आउला। त्यसो भएको हुनाले यो कानूनी, सुरक्षा र व्यावहारिक हिसाबले एकैचोटि मतगणना गर्ने जोखिम उठाउने अवस्था देखिंदैन।"

एकै चरणमा मतगणना गर्न कानुनी परिमार्जनको खाँचो पर्ने उनको भनाइ छ।

सहमति

विपक्षी एमाले ले मतगणना एकैपटक गरिनुपर्ने भन्दै आएकोमा अब त्यसबारे प्रमुख दल सहमति नजिक पुगेको सत्तापक्षले जनाएको छ।

निर्वाचन आयोगले भन्दै आए जस्तै पहिलो चरणको निर्वाचन सकिए लगत्तै मतगणना गर्न प्रमुख दल सहमति नजिक पुगेको सत्तापक्षले जनाएको छ।

पहिलो चरणको चुनावको मत परिणाम घोषणा गरेर दोस्रो चरणको चुनावमा जानु उपयुक्त नभएको भएपनि विविध कारणले त्यसो गर्नु पर्ने परिस्थिति रेको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताएका छन्।

"प्रजातान्त्रिक मूल्य मान्यताका हिसाबले एउटै चुनावको पहिलो चरणको मतपरिणाम घोषणा गरिदिने अनि दोस्रो चरणको चुनाव गर्ने उपयुक्त त होइन। तर प्रमुख दलहरुको पछिल्लो सहमति अनुसार पहिलो चरणको पहिलै नै गणना गर्ने पनि हुनसक्छ। यद्यपि निर्वाचन आयोगसँग थप कुरा गर्न चाहिं बाँकी नै छ।"

विपक्षी दल नेकपा एमाले पनि त्यसमा सहमतिमा आउने सम्भावना रहेको उनको विश्वास छ।

एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले भने, "पहिलो चरणको निर्वाचन गरेर मतपेटिका सुरक्षित रुपमा राखेर अर्को चरणको चुनाव सकिएपछि मतगणना गर्नु राम्रो हो। तर सत्ता गठबन्धनका नेताहरुले अहिले यो कुरालाई महत्व दिनुभएको छैन। निर्वाचन परिणाम आएपछि उहाँहरुले पछुतो मान्ने स्थिति नआओस्।"

यसअघि २०४९ र २०५४ सालमा भएका स्थानीय चुनाव पनि दुई चरणमा भएका थिए।

त्यसबेला पनि मतदान लगत्तै मतगणना गरिएको निर्वाचन आयोगले जनाएको छ।